भारतमा कोरोना बढेपछि चार राज्यमा रात्रीकालिन कर्फ्यु

भारत – भारतमा पछिल्लो समय फेरि कोभिड संक्रमितको संख्या बढ्दै गएको छ । कोभिडको संख्या बढे पछि भारतमा कतिपय राज्यले रात्रिकालीन कर्फ्युको घोषणा गरेका छन् ।

दिल्ली, उत्तर प्रदेश, महाराष्ट्र, हरियाणा, गुजरात, मध्यप्रदेश र कर्नाटकले रात्रिकालीन कर्फ्यु जारी गरेका छन् ।

त्यसका साथै ती राज्यहरूमा भीडभाड गर्न रोक लगाइएको छ ।दिल्लीमा पछिल्लो दुई दिनमा मात्रै कोरोना संक्रमितको संख्या दोब्बरले वृद्धि भएको छ ।

आइतबार २ सय ९० जना संक्रमित भएपछि दिल्ली सरकारले राति ११ बजेदेखि बिहान ५ बजेसम्मका लागि कर्फ्यु जारी गरेको हो ।

यस्तै, सरकारले नयाँ निर्देशिका जारी गर्दै सिनेमा हल, बैंकेट तथा मनोरञ्जन पार्क बन्द गरिने जनाएको छ । त्यस्तै, मेट्रो तथा सार्वजनिक बसलाई सिट संख्याको आधा मात्र यात्रु बोक्न पाउने अनुमति दिइने भएको छ ।

महाराष्ट्रमा सबैभन्दा बढी १ सय ८, दिल्लीमा ७९, गुजरातमा ४१, केरलमा ३८, तमिलनाडुमा ३४ जना ओमिक्रोन संक्रमित भेटिएका छन् ।

हालसम्म १७ राज्यमा ओमिक्रोनबाट संक्रमित व्यक्ति भेटिएका छन् । पछिल्लो २४ घण्टामा भारतमा ६ हजार ९ सय ७ जना कोरोना संक्रमित थपिएका छन् ।

यतिबेला भारतमा ७६ हजार ७ सय ६६ जना सक्रिय संक्रमित छन् । केन्द्र सरकारले राज्य सरकारहरूलाई आवश्यक तयारी र सतर्कता अपनाउन दिनदिनै निर्देशन दिइरहेको छ ।

जनसंख्याको अनुपातमा कम मानिसले कोभिडविरुद्धको खोप लगाएका उत्तर प्रदेश, बिहार, झारखण्ड, महराष्ट्र, तमिलनाडु, पश्चिम बंगाल, केरल, मोजोरम, कर्नाटक र पन्जाबसहित १० राज्य केन्द्र सरकारले स्वाथ्य अधिकारीसहितको टोली खटाएको छ ।

यसैबीच, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वास्थ्य कार्यकर्तासहित अग्रपंक्तिमा खटिने तथा ६० वर्ष उमेर नाघेकालाई कोभिडविरुद्धको बुस्टर खोप दिइने घोषणा गरेका छन् ।

उनीहरूलाई जनवरी १० बाट बुस्टर डोज दिइने जनाइएको छ । संक्रमितको संख्या बढ्दै गएपछि विभिन्न क्षेत्रबाट बुस्टर डोजको माग बढ्दै गएको छ । त्यस्तै, १२ देखि १८ वर्ष उमेर समूहलाई पनि खोप लगाउने निर्णय सरकारले गरेको छ ।

प्रधानमन्त्री मोदीले कोभिडसँग नडराउन तर सतर्क रहन आह्वान गरेका छन् । उनले देशमा १ लाख ४० हजार आईसीयू तथा ९० हजार विशेष बेड उपलब्ध रहेको जनाएका छन् । त्यस्तै, ४ लाखभन्दा बढी अक्सिजन सिलिन्डर राज्य सरकारलाई पठाइएको तथा देशभर ३ हजारभन्दा बढी अक्सिजन प्लान्ट सञ्चालनमा रहेको जनाए ।