Gold
Bangad salyan

हजार माइलको बाटो र प्रेमिल साताका दुई पुस्तक ,,

रंग दर्पण ५ -सन्दर्भ बनाएर चलचित्र प्रदर्शन गर्दा त्यसले बजारमा सकारात्मक प्रभाव पार्छ भन्ने पुरानो मान्यता हो । तर, यो सन्दर्भ अहिले पुस्तक विमोचनमा पनि लागू हुन थालेको छ ।

त्यति मात्र होइन, विशेष सन्दर्भमा विशेष पुस्तक निकाल्ने होड पनि चल्न थालेको छ । निर्वाचनअघि राजनीतिक पुस्तक निकाल्ने प्रकाशन संस्थाहरुले भ्यालेन्टाइनको छेकोमा प्रेमसँग सम्बन्धित किताब बजारमा ल्याउन थालेका छन् ।

प्रदेश र प्रतिनिधि सभा निर्वाचनको बेलामा फाइन पि्रन्टले ‘भ्रष्टाचारको शल्यक्रिया’ नामक पुस्तक प्रकाशन गरेको थियो । भ्यालेन्टाइनको छेको पारेर जनता प्रसारण तथा प्रकाशन लिमिटेडले ‘प्रेमिल’ कथासंग्रह बजारमा ल्याएको छ ।

गत वर्ष भ्यालेन्टाइनमा इन्डिगो इन्क प्रकाशनले ‘परफ्युम’ कथासंग्रह बजारमा ल्याएको थियो ।

यो साता बजारमा नौथरि पुस्तक बजारमा आएका छन् । तीमध्ये पाँच वटा जनता प्रसारण तथा प्रकाशन एक्लैले प्रकाशित गरेको हो । यो साता कथासंग्रह ‘प्रेमिल’ र उपन्यास ‘हजार माइलको बाटो’ले सामाजिक सञ्जालमा बढी चर्चा बटुले ।

हजार माइलको बाटो

नारायण ढकालद्वारा लिखित बहुप्रतीक्षित उपन्यास हो, हजार माइलको बाटो । तत्कालीन मालेको कार्यकर्ता हुँदै पत्रकारितामा प्रवेश गरेका ढकालका कृतिहरुमा राजनीतिक चेतना र पत्रकारिताको सरल भाषा पाइन्छ । उनका पाँच कथा संग्रह र पाँच उपन्यास प्रकाशित छन् । तीमध्ये ‘बृषभ वध’ र ‘प्रेतकल्प’ उपन्यास बढी चर्चामा रहे ।

कथासंग्रहतर्फ भने ‘बर्हिगमन’, ‘इरफान अली’ र ‘आत्महन्ता’ बढी लोकपि्रय बने । अखबारी र निबन्ध लेखनलाई पनि सँगै लिएर हिँडेका ढकालको ‘हजार माइलको बाटो’ले पनि राजनीतिक कथावस्तुलाई नै अगाडि बढाएको छ ।

५० वर्ष अघिदेखि माओवादीको सशस्त्र द्वन्द्वसम्मको परिवेश यो उपन्यासमा पढ्न पाइन्छ । समाज र पात्रको सुक्ष्म चरित्र चित्रण गरिएको यो उपन्यास हतार र मनोरञ्जनका लागि पुस्तक पढ्नेहरुका लागि होइन ।

पुस्तक प्रेमीहरुका लागि भने यो छुटाउनै नहुने पुस्तक हो । फिनिक्स बुकले बजारमा ल्याएको पुस्तकको औपचारिक विमोचन आज भए पनि एउटा अनौैपचारिक समारोहमार्फत् लोकार्पण भइसकेको छ । केही अघिदेखि यो पुस्तक बजारमा पनि उपलब्ध छ ।

प्रेमिल

हरेक वर्ष प्रणय दिवसको अवसर पारेर कुनै न कुनै प्रकाशन गृहले समकालीन प्रेम कथासंग्रह बजारमा ल्याउने गरेका छन् । कुनै वर्ष त प्रेमका दुई वा दुईभन्दा बढी कथासंग्रह बजारमा आउने गर्छन् ।

यस वर्ष जनता प्रसारण तथा प्रकाशन प्रालिले यही सन्दर्भ बनाएर ‘प्रेमिल’ कथासंंग्रह बजारमा ल्याएको छ । समकालीन नेपाली प्रेमकथाहरुको संगालो भनिएको यो संग्रहमा नेपाली साहित्यमा प्रेमकथा लेख्ने सबैजसो स्रष्टा अटाएका छन् ।

संग्रहमा पाका व्यक्तिको प्रेमदेखि किशोरवयका रोमान्ससम्मका कथा अटाएका छन् । राजनीति, अर्थनीति र सामाजिक परिवेशका कारणले प्रेममा आउने उतारचढावको पनि वर्णन गरिएको छ ।

संग्रहमा अनुपम रोसी, अरुणदेव जोशी, अशेष घिमिरे, अश्विनी कोइराला, दीपेन्द्र दोङ, निरु त्रिपाठी, निरुपा प्रसुन, प्रदीपकुमार चौधरी, मणि लोहनी, रञ्जित ओझा, रामकुमार एलन, डा. विजयकुमार पौडेल, विना थिङ तामाङ, सानु शर्मा, सुविन भट्टराई, स्वप्निल नीरव र हरिमाया भेटवाललाई समेटिएको छ ।

संग्रहणीय भए पनि संग्रहमा कतिपय राम्रा कथाकार छुटेको अनुभूति हुन्छ । कतिपय कथा समावेशी हुने आधारमा परेका पनि देखिन्छन् । जे भए पनि यस वर्ष ‘भ्यालेन्टाइन डे’को अवसर पारेर प्रकाशन भएको कारण हुनसक्छ, यो कथासंग्रहले पाठकको ध्यान खिचेको छ ।