चिकित्सा विधेयक, फिर्ता या संशोधन हुँदैन पास हुन्छ ,,

माघ १० ,काठमाडौँ- सरकारले अनशनरत प्रा.डा गोविन्द केसीको अनशनबीच प्रस्तावित चिकित्सा शिक्षा विधेयक संसदबाट पास गराउने तयारी गरेको छ । सोमबार भएको मन्त्रिपरिषद्को निर्णयबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा बोल्दै सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटाले यस्तो जानकारी दिएका हुन् ।

‘संसदमा टेबुल भइसकेको विधेयक कुनै पनि बहानामा फिर्ता या संशोधन हुँदैन । डा. केसीका माग पनि यो विधेयकले सम्बोधन गर्छ’, मन्त्री बास्कोटाले भने, ‘यो वा त्यो बहानामा अब विधेयक रोकिँदैन, यो विधेयकबारेमा डा. केसी नै भ्रममा रहेको पाइयो । त्यसैले यो विधेयकको पूर्ण पाठ एक पटक उनलाई पनि पढाउनुप¥यो, यदि भ्रम रहेछ भने हट्ने छ ।

सरकारका प्रवक्तासमेत रहेका मन्त्री बास्कोटाले जनमुखी व्यवस्थासहितको विधेयकको विरोध गर्नेहरुले कुरा नबुझेको पनि जिकिर गरे । उनले बिहीबारै डा. केसीले लेखेको पत्रतर्फ इंगित गर्दै ‘हावामा तरवार चलाउनु’ राम्रो नहुने पनि उल्लेख गरे ।

मन्त्री बास्कोटाले चिकित्सा शिक्षा र स्वास्थ्य सेवा सुधारका लागि अनशन बसेका भनिएका डा. केसीले अन्य द्वन्द्वकालीन मुद्दा मिसाएको भन्दै आपत्ति प्रकट गरे ।

‘मेडिकल शिक्षा सुधारको नाममा अनशन बसेका व्यक्तिले अरु मुद्दा किन घुसाएका ?’, बास्कोटाले भने, ‘हामी यही विधेयकमात्रै पर्याप्त छ भन्दैनौँ । अहिले उहाँका माग सम्बोधन भएका छन्, भविष्यका निम्ति पर्याप्त नहुन सक्लान् । तर आजको हकमा केसीका माग पुरा भएकाले अनशन छाड्नुपर्छ ।’

मन्त्री बास्कोटाले विधेयकबारेमा सरकार प्रष्ट रहेको उल्लेख गरे । ‘दुईतिहाइको दम्भ या अधिनायकवाद जे भन्नुस् संसदमा पेश गरिएको विधेयकबाट सरकार दायाँबायाँ हुँदैन, यो पास हुन्छ ।’