युएई विरुद्द नेपालको एक दिवसीय शानदार जित ,,

माघ १४ ,काठमाडौं – नेपालले (यूएई) विरुद्धको तीन एक दिवसीय श्रृंखलामा कब्जा जमाएको छ । सोमबार भएको तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा युएईलाई ४ विकेटले पराजित गर्दै नेपालले पहिलो श्रृंखला आफ्नो पक्षमा पारेको हो ।

तेस्रो तथा अन्तिम एक दिवसीयमा पहिले ब्याटिङ गर्दै युएईले दिएको २५५ रनको चुनौती पछ्याएको नेपालले ३२ बल अगावै ६ विकेटको क्षतिमा जित निकालेको हो । नेपाललाई २-१ ले श्रृंखला जिताउने क्रममा आजको खेलमा कप्तान पारस खड्का नायक सावित भएका छन् ।

उनले ९६ बलमा सतक प्रहार गर्दै एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सतक बनाउने पहिलो खेलाडी पनि बनेका हुन् । उनले आफ्नो पारीमा १५ चौका र एक छक्का पनि हानेका थिए । पारस १०९ बलमा ११५ रन बनाएको अवस्थामा एलबीडब्ल्यु धरापमा पर्दै पेभेलियन फर्किए

lekbesi

पहिलो एक दिवसीय खेल तीन विकेटले गुमाएको नेपालले दोस्रो खेलमा भने उत्कृष्ट कमब्याक गर्दै घरेलु टोली यूएईमाथि एक सय ४५ रनको फराकिलो जित हात पारेको थियो । तेस्रो खेलमा पनि आफुले चाहे अनुसारकै परिणाम निकाल्दै नेपालले श्रृंखलामा कब्जा गरेको हो । पहिलो खेलमा कमजोर ब्याटिङ गरेको नेपालले दोस्रो र तेस्रो खेलमा ब्याटिङ र बलिङ दुवैमा सुधार गर्दा जित सम्भव भएको हो ।

श्रृंखला अन्तर्गत दोस्रो खेल जित्ने क्रममा नेपालका युवा खेलाडी रोहितकुमार पौडेलले विश्व कीर्तिमान पनि बनाए । रोहितले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने खेलाडीको कीर्तिमान रचे ।

आजको खेलमा नेपालका लागि ओपनर ज्ञानेन्द्र मल्ल ३५ बलमा ३१ रन बनाएको अवस्थामा आउट भएका थिए । त्यसैगरि अर्का ओपनर वसन्त भण्डारी १७ बलमा केबल ९ रन बनाएको अवस्थामा पेभेलियन फर्किए । त्यसैगरी दीपेन्द्र सिंह एरी १५ बलमा ६ रन बनाएको अवस्थामा पेभेलियन फर्किए ।

त्यसपछि नेपालका लागि सन्दीप जोरा पनि २० बलमा १९ रन बनाउँदै क्याच आउट भए । सन्दीपपछि आएका रोहित पौडेल २४ बलमा १६ रन बनाएको अवस्थामा क्याच आउट भए । त्यसपछि आएका अरिफ शेखले नटआउट रहँदै २४ बलमा २१ रन बनाए । अन्तिक्रममा आएका सोमपाल कामीले पनि नेपालको पारी जितसम्म पुर्याउन महत्वपूर्ण योगदान दिए । जितका लागि छक्का हानेका उनले २५ बलमा २६ रनको शानदार पारी खेल्दै नेपाललाई जिताए ।

युएईका लागि इमरान हैदर र असफाक अहमदले २/२ विकेट लिन सफल भए । मोहम्मद नाविद र क्वादेर अहमेदले समान १/१ विकेट लिएका थिए ।