पोखराम महानगरको गाडी जलाउने पक्राउ ,
माघ १९ , पोखरा – पोखरा महानगरपालिकाको पिकअप भ्यानमा शनिबार आगो लगाएको आरोपमा नेपाल विद्यार्थी संघका पाँच जनालाई
कास्की प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा डिफान भुजेल, पर्शुराम बस्नेत, विनय पौडेल, लक्ष्मी पौडेल र राजेन्द्र बराल रहेको कास्कीका प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले जानकारी दिए।
पोखरा मासबारमा बिहान साढे ९ बजे महानगर शिक्षा महाशाखाको बा १ झ ५८७९ नम्बरको गाडीमा पेट्रोल छर्केर २ जनालेआगो झोसेको प्रत्यक्षदर्शीले बताएका छन्। सेतो स्कुटरमा आएका २ युवाले गाडी रोकेर चालकलाई बाहिर निकाली आगो लगाएका थिए।
बिदाको दिन सरकारी साधनको दुरुपयोग बढेकाले नेपाल विद्यार्थी संघ केन्द्रीय निर्णयअनुसार देशका सबै जिल्लामा बिदाको दिन सवारी साधन चल्न नदिने अभियान सञ्चालन गरेको नेपाल विद्यार्थी संघका नेता भानु ढकालले बताए। पोखरा महानगरपालिकाले एक विज्ञप्ति निकालेर घटनाको विरोध गरेको छ।
महानगरका प्रवक्ता धनबहादुर नेपालीले जारी गरेको विज्ञप्तिमा गाडीमा आगजनी गर्नेलाई कारबाही गर्न प्रहरी प्रशासनलाई आग्रह गरिएको छ। महानगरपालिकाले गाडीमा आगजनी गर्नेलाई कारबाही गर्न उजुरीसमेत दिएको महानगरका सूचना अधिकारी गंगालाल सुवेदीले बताए।
जिल्ला समन्वय समितिबाट हालै उक्त गाडी पोखरा महानगरपालिका अन्तर्गत आएको थियो। गाडी मर्मत गरेर शिक्षा महाशाखाले प्रयोग गर्दै आएको महानगरपालिकाका प्रवक्ता तथा वडा नम्बर ५ का अध्यक्ष धनबहादुर नेपालीले बताए।