suekhet
bheriad

रेशम चौधरीलाई जन्मकैदको फैसला भएपछि राजपाको आकस्मिक बैठक बस्दै ,,

lekabesi

फागुन २२ ,काठमाडौं- जिल्ला अदालत कैलालीले सांसद रेशम चौधरी लगायत ११ जनालाई जन्मकैदको फैसला गरेपछि राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको आकस्मिक बैठक बसेको छ ।

कैलालीको टिकापुरमा ८ जनाको ज्यान जाने गरि भएको घटनामा राज्यले राजपा नेपालका नेता समेत रहेका रेशम चौधरीलाई मुख्य आरोपी ठहर्याएको थियो । घटना पछि उनलाई प्रहरीले खोजेको थियो त्यो समय रेशम चौधरी भारत प्रवासमा बस्दै आएका थिए ।

पछि पार्टीको सल्लाहमा कैलाली जिल्ला अदालतमा हाजिर हुन जाँदा उनलाई पूर्पक्षका लागि थुनामा राखिएको थियो । उनी फरार रहेकै अवस्थामा कैलाली १ बाट प्रतिनिधिसभाको चुनाव जितेका थिए ।

उनी प्रतिनिधिसभा चुनाव जितेपनि निर्वाचन आयोगले प्रमाणपत्र दिएको थिएन । यता संसद सचिवालयले प्रतिनिधिसभा सदस्यको रुपमा सपथ पनि खुवाएको थिएन ।

थुनामा रहेका रेशम चौधरीको रिहा र थुनामुक्त गर्न राजपा नेपालले दवाव दिएपछि सरकारले पुस १९ गते सपथग्रहण गराएको थियो । मंगलवार कैलाली जिल्ला अदालतमा बहस हुँदा उनीसहित ११ जनालाई जन्मकैदको फैसला सुनाएको छ ।

अदालतले यस्तो निर्णय गरेपछि राजपा नेपालले आधिकारिक धारणा दिनका लागि अध्यक्षमण्डलको बैठक बसिरहेको अध्यक्षमण्डलका सदस्य शरदसिंह भण्डारीले बताए ।

२०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको घटनामा एक बालकसहित आठ जनाको निधन भएको थियो । सो घटनामा मुख्य दोषी रेशम चौधरीलाई देखाएपछि उनी फरार थिए ।

भारतको विभिन्न ठाउँमा लुक्दै बस्दै आएका रेशम चौधरीले भारत भ्रमणमा रहेका तत्कालिन माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई २०७३ भदौ ३१ गते दिल्लीको ताज होटेलमा भेटेपछि उनको मुद्दा कमजोर हुँदै गइरहेको थियो । त्यसपछि चौधरीलाई नेपाल फर्काएर मुद्दा फिर्ता लिन लगाउने योजना शुरु भएको थियो ।

तर, रेशम चौधरीमाथि लागेको मुद्दा फिर्ता लिन तत्कालीन माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मात्र नसक्ने भएपछि उनले तत्कालीन एमालेका अध्यक्ष केपी ओलीसँग कुरा गरेका थिए । रेशम चौधरीको मुद्दा फिर्ता लिन प्रधानमन्त्री ओली तत्कालीन अवस्थामा सहमत भएका थिएनन् ।

२०७४ मंसिर प्रिितनिधिसभाको चुनाव सम्पन्न भएपछि दुई तिहाई बहुमत भएको सरकारको नेतृत्व गर्ने भएपछि मात्र ओली राजपा नेपालको माग रेशम चौधरीप्रति सकारात्मक भएका थिए । २०७४ फागुन ३ गते प्रधानमन्त्री भएका ओली फोरम र राजपा नेपाललाई पनि सरकारमा सहभागी गराउन प्रयास शुरु गरेका थिए ।

यसरी शुरु भयो योजना ,,

फोरम नेपाल त सरकारमा सहभागी भयो तर राजपा नेपालले रेशम चौधरीको रिहा र शपथग्रहणलाई मुख्य मुद्दा बनायो । राजपाले रेशम चौधरीलाई शपथ ग्रहण गराई रिहा नगरेसम्म आफूहरु सरकारमा सहभागी नहुने स्पष्ट पारेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २७ गते संसदमा विश्वासको मत हासिल गरे । त्यसअघि राजपा नेपालसँग प्रधानमन्त्री ओलीले पटक–पटक छलफल गरेर सरकार ल्याउन प्रयास गरेका थिए । राजपा नेपालले विश्वासको मत दिने भएपछि रेशम चौधरी फागुन १४ गते कैलाली जिल्ला अदालतमा उपस्थित भएका थिए ।

जिल्ला आदलतमा उपस्थित भएका उनलाई पूर्पक्षका लागि थुनामा राखेपछि राजपा नेपालका अध्यक्षमण्डलका तत्कालिन संयोजक महन्थ ठाकुरले प्रधानमन्त्री ओलीलाई फागुन १९ गते प्रधानमन्त्री निवास बालुवाटारमा गएर भेटेका थिए ।

‘अदालतमा हाजिर भएपछि रेशम चौधरीलाई केही हुँदैन, उनको मुद्दा फिर्ता हुन्छ भन्नुभएको थियो तर तपाईको सरकारले उनलाई थुनेर राख्यो त भनि’ ठाकुरले प्रधानमन्त्री अ‍ोलीलाई प्रश्न गर्नुभएको राजपा नेपालका एक नेताले बताए ।

त्यसपछि अ‍ोलीले थुनामा रहेका उनलाई बाहिर ल्याउने आफ्नो जिम्मा र त्यसका लागि सरकारमा र पार्टीमा वतावरण बनाउन केही समय दिन माग गरेका थिए ।

संयोजक ठाकुर र प्रधानमन्त्री ओलीबीच यस्तो वार्ता भएपछि रेशम चौधरीले त्यसको भोलिपल्ट अर्थात फागुन २० गतेदेखि जेलमै अनसन शुरु गरेका थिए । अनसन बसेको भोलिपल्ट अर्थात फागनु २१ गते प्रधानमन्त्री ओलीले राजपा नेपालका नेताहरुलाई बालुवाटारमा बोलाएर लामो छलफल गरेका थिए ।

छलफलमा रेशम चौधरीको विषयमा छलफल भएको थियो । तर, ओलीले राजपा नेपालका नेताहरुलाई सरकारमा सहभागी हुनका लागि छलफलमा बोलाएका थिए । राजपा नेपालका नेताहरुले आफ्नो नेता जो सांसद पनि छन् उनी जेलमा बस्ने र हामी सरकारमा जाने हुँदै हुँदैन भनि सरकारमा जानबाट इन्कार गरेका थिए ।

त्यहाँ पनि प्रधानमन्त्री अ‍ोलीले रेशम चौधरीलाई शपथग्रहण गराउने र मुद्दा फिर्ता लिने जिम्मा आफ्नो भएको त्यसमा राजपा नेपालका नेताहरुलाई कुनै चिन्ता नलिन आग्रह गरेका थिए । प्रधानमन्त्री ओलीले रेशम चौधरीको बारेमा गृहमन्त्री रामबहादुर थापा र केही अधिवक्ताहरुसँग छलफल पनि गरेका थिए ।

राजपा नेपालका नेताहरुले गृहमन्त्री रामबहादुर थापालाई फागुन २६ गते उनकै मन्त्रालयमा गएर भेटेका थिए । गृहमन्त्री थापाले पनि रेशम चौधरीको मुद्दा फिर्ता हुनेमा विश्वास दिलाएको त्यो बैठकमा सहभागी राजपा नेपालका महासचिव केशव झाले बताए । मुद्दा फिर्ता लिने लगायतका विषयमा कानुन प्रकृयाहरु के–के छन् त्यसको बारेमा सल्लाह गरेर अघि बढ्ने गृहमन्त्री थापाले त्यसबेला आश्वासन दिएको झाले बताए ।

गृहमन्त्री थापाले त्यो दिन मुद्दा फिर्ता हुने आश्वासन मात्र दिएनन्, कैलालीको जेलमा अनसन बसेका रेशम चौधरीलाई त्यही दिन काठमाडौं ल्याउन निर्देशन पनि दिए र साँझ पाँच बजे बुद्धएयरबाट काठमाडौ ल्याएर वीर अस्पतालमा भर्ना गरियो ।

गृहमन्त्री थापालाई भेटेको र रेशम चौधरी हवाई जहाजबाट काठमाडौं आइसकेको भोलिपल्ट अर्थात फागनु २७ गते राजपा नेपालले पनि प्रधानमन्त्री अ‍ोलीलाई विश्वासको मत दियो । रेशम चौधरीको रिहा, मुद्दा फिर्ता र सपथको वतावरण बन्दै गएको सन्देश दिनका लागि प्रधानमन्त्री ओलीलाई समर्थन गरेकै दिन राजपा नेपालअध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले रेशम चौधरीलाई भेट्न वीर अस्पताल पुगेका थिए ।

त्यहाँ रेशम चौधरीलाई उनले सरकारसँग भइरहेको वार्ताको बारेमा जानकारी दिएका थिए । चाँडै रिहा हुने आश्वासन पनि दिएको थियो तर चौधरीलाई जन्जिरमा बाँधेर उपचार गरिरहेको विषय राजपा नेपालका नेताहरुलाई असहय भयो ।

भोलिपल्ट अर्थात फागनु २८ गते राजपा नेपालका नेताहरु महन्थ ठाकुर र राजेन्द्र महतो रेशम चौधरीलाई भेट्न अस्पताल पुगेका थिए । त्यहाँ अनसनरत चौधरीको अवस्था देखेर महन्थ ठाकुरले त्यहीबाट प्रधानमन्त्री ओलीलाई फोन गरेका थिए ।

राजनीतिक बन्दीलाई व्यवहार गर्ने यो कस्तो तरिका हो, बिरामी व्यक्तिलाई यसरी जन्जिरमा बाँधेर उपचार गरिन्छ त यस्तो संवेदनशील सरकार हो भनि प्रधानमन्त्री ओलीप्रति कड्किएपछि प्रधानमन्त्री ओलीले तत्कालै सो जन्जिर खोल्न लगाएका थिए ।

तर प्रधानमन्त्री ओली र गृहमन्त्री थापाले दिएको आश्वासन अझै पुरा भइरहेको थिएन । ओलीलाई समर्थन गरेको कारणले मधेशमा राजपा नेपालको आलोचना भइरहेको थियो । त्यो आलोचनालाई कम गर्नका लागि रेशम चौधरीको रिहा र शपथग्रहण जसरी पनि गराउनु थियो ।

किनभने राजपा नेपालले प्रधानमन्त्री ओलीलाई विना कुनै लिखित सहमतिका आधारमा विश्वासका मत दिएको थियो । सोही कारणले राजपा नेपालको आलोचना भइरहेको थियो । फोरम नेपाल दुई बुँदे सम्झौता गरेर सरकारमा गएको थियो । तर राजपा नेपाल विना सहमति समर्थन गरेको थियो ।

महन्थ ठाकुर र राजेन्द्र महतो चैत १ मा पनि रेशम चौधरीलाई भेट्न वीर अस्पताल पुगेका थिए । आमरण अनसनमा भएका कारण रेशम चौधरीको अवस्था बिग्रिँदै गइरहेको थियो ।

दुई नेता त्यहाँ गएपछि रेशम चौधरीले भनेका थिए, ‘यही दुख दिनका लागि मलाई अदालतमा आत्मसम्र्पण गर्न लगाउनुभएको थियो । बरु म भगौडा नै ठिक थिए ।’ उनकी श्रीमतीले पनि रुँदै महन्थ ठाकुर र राजेन्द्र महतोको आलोचना गरेका थिए ।

त्यसपछि महन्थ ठाकुरले रेशम चौधरीलाई चित्त बुझाउनका लागि त्यहीबाट प्रधानमन्त्री ओलीलाई फोन गरेका थिए । ‘तपाईले गर्नुभएको प्रतिवद्धता कहिले पुरा हुन्छ, एक दुई दिनमा केही भएन भने हामी सरकारको विरुद्धमा जान बाध्य हुन्छौ, महन्थ ठाकुरले प्रधानमन्त्री ओलीलाई चेतावनी दिँदै भनेका थिए ।

त्यसको भोलिपल्ट अर्थात चैत २ गते गृहमन्त्री थापा वीर अस्पताल पुगेर रेशम चौधरीलाई जुश खुवाएर १८ दिनदेखि बसेको अनसन तोडाएका थिए । र, थापाले त्यहाँ तीन दिनभित्र शपथग्रहण गराउने प्रतिवद्धता पनि जनाएका थिए । तबसम्म चौधरीको स्वास्थ्यमा पनि सुधार आउनेछ उनले भनेका थिए ।

ठीक तीन दिनपछि अर्थात चैत ४ गते राजपा नेपालका अध्यक्षमण्डलका सदस्यले सभामुख कृष्णबहादुर महरालाई फोन गरेर रेशम चौधरीलाई सपथ ग्रहण गराउन भनेका थिए ।

तर, महराले प्रधानमन्त्री ओलीले आफूलाई भनेपछि शपथग्रहण गराई दिने जवाफ दिएका थिए । उनले भनेका थिए, ‘म शपथ ग्रहण गराउन तयार छु, तर प्रधानमन्त्रीज्युबाट यसको निर्देशन हुनुपर्यो ।’

त्यसपछि राजपा नेपालको दवाव सोझियो प्रधानमन्त्री ओलीतिर । प्रधानमन्त्री ओलीको भारत भ्रमण र एमाले–माओवादी एकताका लागि व्यस्त भएका कारण राजपा नेपालसँग छलफल भइरहेको थिएन ।

त्यही बीचमा राजेन्द्र महतोले बैशाख १० गते प्रधानमन्त्री ओलीलाई उनकै निवासमा गएर भेटेका थिए । भेटमा रेशम चौधरीको रिहा र शपथग्रहणको बारेमा कुरा गरेका थिए ।

त्यसको जवाफमा उनले आफ्नो पार्टी एकीकरणको प्रकृयामा रहेको र यस विषयमा पार्टीभित्र छलफल नभएको तथा सरकारमा पनि छलफल हुन नसकिरहेकाले केही दिनमै यसको टुँगो लगाउने भनि महतोलाई पठाएका थिए । प्रधानमन्त्री ओली पुनः पार्टी एकीकरणमै व्यस्त भए ।

त्यही बीचमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण पनि भयो । त्यही भएर राजपा नेपालले पनि यो विषयमा खासै दवाव बढाउन सकिरहेको थिएन । जेठ ३ गते पार्टी एकता पनि घोषणा भयो । त्यसको लगतै राजपा नेपालले जेठ ८ गते प्रधानमन्त्री ओलीलाई रेशम चौधरीको रिहा तथा अगामी वजेटको बारेमा ध्यानाकर्षण गराउन ज्ञापनपत्र बुझायो ।

त्यसपछि पटक–पटक प्रधानमन्त्रलाई भेटेर ज्ञापनपत्र बुझाउँदै रेशम चौधरीलाई रिहायका लागि दवाव दिन शुरु गरेका थिए । त्यसरी दवाव परेपछि पुस १९ गते शपथग्रहण भयो तर रिहा भएन ।

रिहाका लागि राजपा नेपालले अवाज उठाउन थाल्यो । त्यसपछि प्रधानमन्त्री अ‍ोलीले राजपा नेपालका नेतासँग भेटघाट नै बन्द गरि दिए । रेशम चौधरीको सपथपछि प्रधानमन्त्री अ‍ोलीसँग राजपा नेपालका नेताहरुले भेट्नका लागि समय मागे तर उनले समय उपलब्ध गराएनन् ।

प्रधानमन्त्री अ‍ोलीलाई थाहा थियो कि राजपा नेपालका नेताहरुसँग भेटेपछि रेशम चौधरीको रिहाका लागि दवाव दिनेछ । त्यसकारणले उनी भेट्ने समय नै दिएका थिएनन् ।

अन्ततः आज कैलाली जिल्ला अदालतले रेशम चौधरीलाई जन्मकैदको फैसला सुनाएको छ, त्यसले राजपा नेपालका नेताहरु क्रोधित बनेका छन् । यो फैसलापछि राजपा नेपालको प्रतिक्रिया के आउँछ त्यसका लागि भने पर्खिनै पर्छ ।