राउटेका शिशुको ६ महिनामा जन्म आठ मिर्तु पनि आठ ,,

रंग दर्पण १० फाल्गुन – जंगलमा घुमन्ते जीवन विताउने लोपउन्मुख राउटेको अस्तित्व संकटमा परेको छ । पछिल्लो ६ महिनायता जन्मिएका राउटेका ८ नवजात शिशुको मृत्यु भएको छ । राउटेका बच्चाको बालमृत्युदर अत्यधिक भएका कारण अस्तित्व संकटमा परेको हो ।

लामो समयदेखि राउटेको क्षेत्रमा काम गर्दै आएकी सत्यदेवी खड्का (अधिकारी)ले असोजयता जन्मिएका राउटेका आठै बच्चाको मृत्यु भएको बताइन् । राउटेकी भान्जीका नामले समेत परिचित अधिकारीले भनिन्, ‘असोजपछि राउटेका ८ बच्चा जन्मिए, तर तीमध्ये कसैको पनि ज्यान बचेन। ’

उनले उपचारको उचित व्यवस्था नहुँदा राउटेका शिशु बचाउन मुस्किल भइरहेको बताइन् । जंगलमा बस्ने भएकाले राउटे महिलाको स्वास्थ्य परीक्षण हुँदैन । सजिलैसँग उपचार गर्न समेत उनीहरु मान्दैनन् । विरामी भएमा अस्पताल जान र औषधि खान समेत मान्दैनन् । चिसोमा पात ओच्छाएर खुला आकाशमा सुत्छन् । न उनीहरुको शरीरलाई न्यानो कपडाले ढाक्न नै पाउँछ ।

अधिकारीका अनुसार नवजात शिशु बाँच्न नसकेका कारण लामो समयदेखि राउटेको सं‌ख्या स्थीर छ । राउटेको जनसंख्या १४५ भन्दा माथि उक्लिन सकेको छैन् । ३६ परिवारमा ७१ जना महिला र ७४ जना पुरुष छन् । उनीहरु दैलेखको भैरवी र माबु गाउँपालिकास्थित जंगलमा बस्दै आएका छन् ।

जंगलबाट बाहिरका मानिसको सम्म्पर्क आउन थालेपछि दुर्घटनमा परेर समेत राउटेहरुको मुत्यु भएको छ । उनले राउटेका बच्चा बचाउन नसकिए लोप भएर जाने सक्ने बताइन् । ‘उनीहरुका बच्चा जोगाउन नसकिए, भोलि पर्सी राउटे थिए भनेर खोज्नु पर्छ’, उनले सुनाइन् ।

उनीहरुले सरकारले दिने सामाजिक सुरक्षा भत्ताको सदुपयोग गर्न सकेका छैनन् । मासिक पाउने सामाजिक सुरक्षा भत्ता पनि उनीहरुले रक्सी खान खर्च गर्छन् । अत्यधिक रक्सी पिउनाले उनीहरुको जीवन जोखिममा छ ।

राउटेका बच्चाको बालमृत्युदर अत्यधिक भएका कारण अस्तित्व संकटमा परेको हो । पछिल्लो ६ महिनायता जन्मिएका राउटेका ८ नवजात शिशुको मृत्यु भएको छ ।

राउटेलाई मुलधारमा ल्याएर उनीहरुको संरक्षण गर्नु बाहेक राज्यसँग विकल्प नरहेको अधिकारी बताउँछिन् । उनले खसी, चामल र पैसा बाँडेर राज्य पन्छिरहेको पनि गुनासो गरिन् । ‘अब उनीहरुलाई खसी, चामल र पैसा बाँडेर मात्रै हुदैन’, अधिकारीले भनिन्, ‘अब मुलधारमा ल्याएर उचित व्यवस्थापन गर्नुपर्छ ।’

राउटेहरुले पराम्परागत काठका भाडा बनाउने काम गर्छन् । काठका भाडा, कोषी, प्लेट, चुरा राख्ने स्टन्ड, थाल, वटुका, डाडु पुनियु खुब मेहनत गरेर बनाउँछन् । राउटेले चाँप, उत्तिस, लालिगुराँस र टुनी लगायत रुखको प्रयोग गरी काठका भाँडादेखि खैलौना पनि बनाउने गरेका छन् । राउटेले चरा, खुकुरी र बन्दुकका खेलौना पनि बनाउँछन् ।

राउटे समुदाय अहिलेको एकाइसौं शताब्दीमा पनि जंगलमा बस्ने एक मात्र मानव जाति हो । उनीहरु जंगलमा समेत एकै ठाउँ लामो समय बस्दैनन् । बस्दै आएको जंगलमा राउटेको कुनै सदस्यको मृत्यु भएमा तुरुन्तै त्यो जंगल क्षेत्र छोडेर अर्को ठाउँ जान्छन् । उनीहरुले दैलेख, सुर्खेत, दाङ, सल्यान र अछामका जंगलमा घुम्दै बस्दै आएका छन् ।

राउटेको एक समुह प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई र शुभकामना दिन दैलेखबाट यही महिना आउँदैछन् । राउटे लोपोन्मुख, सिमान्कृत वर्ग उत्थान प्रतिष्ठान नेपालको संयोजनमा राउटेले प्रधानमन्त्री ओलीलाई भेट्न लागेका हुन् ।

प्रतिष्ठानकी अध्यक्ष समेत रहेकी अधिकारीले प्रधानमन्त्री ओलीका साथै राष्ट्रपति विद्यादेवी भण्डारी र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग समेत भेट्ने जानकारी दिइन् ।