नेपाल र जापान दुई देशबीच समझदारी कामदारलाई जापान जाने बाटो खुल्यो ,,

चैत,११ काठमाडौं – नेपाल सरकार र जापान सरकारबीच नेपालि कामदार लैजाने बारेमा सम्झौता भएको छ । यो सगै जापान सरकारले नेपालि कामदारलाइ रोजगारी दिने जानकारी गरेको छ ।

कामदार आपूर्तिबारे ‘सहकार्यको समझदारी’ (एमओसी)मा सोमबार हस्तक्षर भएको छ । नेपाल सरकारका तर्फबाट श्रम मन्त्रालयका कार्यवाहक सचिव रामप्रसाद घिमिरे र जापानका तर्फबाट जापानी राजदूत मासामिची साइगोले सहयोग समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको उपस्थितिमा आज मध्यान्हमा काठमाडौंको हिमालयन होटलमा एमओसीमा हस्ताक्षर भएको हो । एमओसीमा हस्ताक्षर पछि बोल्दै मन्त्री बिष्टले जापान नेपाली श्रमिकका लागि आकर्षक र रुचीपूर्ण गन्तब्य भएको बताए ।

उनले यो समझदारीका लागि तयार भएकोमा जापान सरकारलाई धन्यवाद ज्ञापन ब्यक्त गरेका छन्। दुईदेशबीच भयको समजधारीले जापान जाने र कामदार पठाउने प्रक्रिया अगाडी बढ्ने छ ।

तर यसका लागि जापान पठाउन श्रम मन्त्रालय अन्तरगत छुट्टै इकाई खडा हुनेछ ।दुबै पक्ष कामदार लैजाने विधि, प्रक्रिया, कामदारको सेवा, सुविधा, सुरक्षा लगायतका विषयमा टुंगोमा पुगेका हुन् ।

लागतको विषय भने समझदारीपछि दुई देशबीचको प्राविधिक संयन्त्रले टुंगो लगाउने छ ।कामदार संकट गहिरिएपछि जापान सरकारले विदेशी कामदार भित्र्याउने नीति लिएको छ । नेपालसँगै चीन, इन्डोनेसिया, मंगोलिया, म्यानमार, थाइल्यान्ड, फिलिपिन्स र भियतनामबाट कामदार लिने योजना बनाएको छ ।

पहिलो पाँच वर्षमा ३ लाख ४५ हजार विदेशी कामदारलाई १४ वटा औद्योगिक क्षेत्रमा काम गर्न अनुमति दिने सरकारको योजना छ । ती क्षेत्रमा नर्सिङ केयर, निर्माण, होटल, कृषि, मत्स्यपालन लगायत छन् ।

अब म्यानपावर व्यवसायी जापानमा कामदार पठाउने प्रक्रियाबाट अलग हुनेछन् । नेपाल र जापान सरकारले कोरियाको जस्तै छुट्टै संयन्त्र बनाएर कामदार छनोट गरी पठाउने व्यवस्था गर्नेछन् । यसअघि जिट्कोमार्फत सीमित नेपाली कामदार जापानमा जान पाउँथे ।

नेपालले जापानसँग कामदार आपूर्ति प्रक्रियामा म्यानपावर लगायतका बिचौलिया संयन्त्रलाई सहभागी नगराउन र शुन्य लागतमै कामदार लैजाने व्यवस्था गर्न अनुरोध गरेको छ ।

अब अपि्रल महिनाबाटै कामदार लैजाने प्रक्रियाका लागि तयारी सुरु हुनेछ । समझदारी भएपछि भाषा परीक्षा र सिप परीक्षण, कामदार छनोट प्रक्रियाको सुरु गरिने छ । खाडीमुलुकमा जाने युवाहरु पनि अब भाषा सिकेर जापान जान सक्ने छन् ।