विधान विपरितको संसदीय समिति विघटन गर्न पौडेलको आग्रह
रंग दर्पण १ माघ २०७४ काठमाडौँ — कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको संसदीय समिति र केन्द्रीय कार्यसम्पादन समिति विघटन गरी विधानसम्मत ढंगले पुनर्गठन गर्न प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवासँग आग्रह गरेका छन् । यी दुवै निकायमा सभापति देउवाले विधानले तोकिएभन्दा बढी सदस्य राखेका छन् ।
महामन्त्री शशांक कोइरालासहित प्रधानमन्त्री निवास बालुवाटार पुगेका पौडेलले निर्वाचनको समिक्षा र राष्ट्रियसभा निर्वाचनको विषयमा छलफलका लागि तत्काल केन्द्रीय कार्यसमितिको बैठक बोलाउन माग समेत गरे ।
राष्ट्रिय सभाको निर्वाचनबारे देउवाले पौडेल र कोइरालासहित पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला र विमलेन्द्र निधिलाई समेत छलफलका लागि बोलाएका थिए । पौडेलले केन्द्रीय कार्यसमिति बैठक बोलाउन आलटाल गरेको भन्दै देउवाप्रति असन्तुष्टी समेत जनाएका थिए ।
देउवाले भने संसदीय समिति र कार्यसम्पादन समिति ठूलो बन्नुमा पौडेल नै कारक रहेको बताएका थिए । तपाईंले यसलाई पनि राखिदे, अर्कोलाई पनि राखिदे भन्ने अनि मलाई ठूलो भयो भन्ने ?
देउवाले पौडेललाई दिएको जवाफ उद्धृत गर्दै बालुवाटार स्रोतले भन्यो, ‘तपार्इंकै कारण मैले बढी सदस्य राख्न परेको हो । संसदीय समितिमा मैले तपाईंलाई ३ जना दिनुहोस् म ५ जना राख्छुभन्दा मान्नु भएन ।
बैठकमा राष्ट्रियसभा सदस्यको उम्मेदवारका लागि सामान्य छलफल भएको नेता निधिले बताए । ‘राष्ट्रियसभा निर्वाचनका विषयमा छलफल गर्न एकैछिन बसिएको हो निधिले भने अरु विषयमा लामो कुराकानी भएन । भोली (मंगलबार) बाट छलफल हुन्छ ।