बादल गृहमन्त्री हुने पक्का ,,

रंग दर्पण १४ फागुन -काठमाडौं : नेकपा माओवादी केन्द्र रामबहादुर थापा बादलको नेतृत्वमा सरकारमा सहभागी हुने पक्का भएको छ। आकांक्षी धेरै भएका कारण मन्त्रीहरू छान्न नसकिरहेका बेला माओवादी केन्द्रले बादललाई गृहमन्त्रालयको जिम्मेवारीसहित सरकारमा पठाउने तय भएको स्रोतले जानकारी दियो।

सरकारमा पठाउनेहरूको नाम तय गर्ने जिम्मा माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको थियो। उनले आज बिहानै प्रधानमन्त्री केपी शर्मा ओलीसँग मन्त्रिपरिषद् विस्तारबारे छलफल गरेका छन्।

स्रोतका अनुसार जनार्दन शर्मा, वर्षमान पुन, मातृका यादव र गिरिराजमणि पोखरेल पनि मन्त्री बन्ने भएका छन्।

प्रधानमन्त्री नियुक्त भएको ११ दिनपछि प्रधानमन्त्री ओलीले सोमबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्। पार्टी एकतामा सहमत माओवादी र आफ्नै पार्टी नेतालाई समेटेर प्रधानमन्त्रीले दोश्रो चरणमा सोमबार मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन्।

ओली नेतृत्वको सरकारमा १८ मन्त्रालय राख्ने र त्यसमा एमालेले प्रधानमन्त्रीसहित ११ र माओवादी केन्द्रले ७ मन्त्रालय लिने गरी भागबन्डा भएको छ। १० फागुनमै मन्त्रालय भागबन्डा लगाए पनि दुवै पार्टीले आफ्ना भागमा परेका मन्त्रालयमा मन्त्रीको आकांक्षी धेरै हुँदा टुंगो लगाउन सकेका थिएनन्।