१२ लाखमा आमाको हत्या गर्ने छोरीसहित ४ जनालाई थुनामा राख्न आदेश ,,
साउन १५ , भक्तपुर- प्रेमीसँग मिलेर आमाको हत्या गर्ने छोरीसहितका चार जनालाई पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत भक्तपुरले आदेश दिएको छ ।
न्यायाधीश डाक्टर श्रीप्रकाश उप्रेतीको एकल ईजलासले छोरी र उक्त हत्या संग्लन रहेका अन्य तीन आरोपीहरुलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको अदालतका तहसीलदार तहसीलदार तथा सूचना अधिकारी सदन अधिकारीले जानकारी दिएका छन् ।
गत असार १५ गते आफ्नै छोरीले प्रेमीसँग मिलेर भक्तपुरको चाँगुनारायण ७ मा आमा सावित्रा भट्टराईको हत्या गरेकी थिइन् ।
उनले १२ लाख रुपैयाँ मा सुपारी दिएर आमाको हत्या गर्न लगाएको अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार प्रेमीसँग मिलेर उनले आमाको हत्या गर्न भारतीय कन्ट्राक्ट किलर (भाडाका अपराधी) भाडामा प्रयोग गरिएको पाइएको छ ।
छोरीको प्रेम सम्बन्धका बारेमा आमालाई थाहा भएकै कारण उनको हत्या गरिएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको थियो ।
प्रहरीले हत्याको विषयमा अनुसन्धान गर्दा हत्यामा छोरीकै संलग्नता रहेको भन्दै छोरी ईश्वरी, सिरहाका मोहम्मद नौशाद, भारतीय नागरिक अर्जुनकुमार भनिने भोलाकुमार र मोहमद रइसलाई पक्राउ गरेको थियो ।