कर्णाली प्रदेशका भौतिक योजनामन्त्री खत्री बर्खास्त,उनको पद मुख्यमन्त्रीले सम्हाल्ने ,,
साउन ३० ,सुर्खेत – कर्णाली प्रदेशका भौतिक योजना मन्त्री खड्गबहादुर खत्री पदमुक्त भएका छन् ।
बैंकिङ कसुरको पक्राउ पूर्जी जारी भएसँगै मन्त्री खत्रीलाई कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नेपालको संविधानको धारा १६९ को उपधारा २ को खण्ड (ख) बमोजिम मन्त्री खत्रीलाई पदमुक्त गरेका हुन् ।
कृषि विकास बैंकले दायर गरेको बैंकिङ कसूरसम्बन्धी मुद्दामा प्रतिवादी बनाइएका खत्रीलाई उच्च अदालत पाटनले मंगलबार ३ दिनभित्र अदालतमा पेश गर्न सरकारी वकिल कार्यालयमार्फत प्रहरीलाई आदेश दिएको थियो ।
मन्त्री खत्रीलाई पक्राउ पूर्जी जारी भएपछि राजीनामा दिन दबाव दिइएकाे थियाे । तर, राजीनामा दिन नमानेपछि पार्टीसँग छलफल गरी बिहीबार राति मुख्यमन्त्री शाहीले बर्खास्त गरेका हुन् ।
संघीय संरचनामा गएपछि बर्खास्तीमा पर्ने खत्री पहिलो प्रदेश मन्त्री हुन् ।मुद्दामा प्रतिवादी बनाइएका छविलाल ढकाल, रणधीर तुम्बा र देवलाल शाही पक्राउ परिसकेका छन् भने राजुप्रसाद श्रेष्ठ फरार छन् ।
उक्त मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री शाही आफैंले सम्हाल्ने प्रेस सल्लाहकार ध्रुव वुढाथोकीले जानकारी दिए ।