सुर्खेतमा वेवारिसे गाई नेपालगञ्ज फिर्ता पठाइयो दोषीलाई कारबाही हुने ,,

भदौ १४ , काठमान्डौ – सुर्खेतको कटकुवा जङ्गलमा बेवारिसे छाडिएका गाईको उद्वार गरी नेपालगञ्जतर्फ पठाइएको छ । स्थानीय प्रशासनको समन्वयमा वीरेन्द्रनगर नगरपालिकाले बेवारिसे छाडिएका गाईलाई शनिबारदेखि नेपालगञ्ज फिर्ता पठाउन थालेको हो ।

सुर्खेतको कटकुवा जङ्गलमा फालीएका मृतक गाईको संख्या ३० पुगेको छ शुक्रबार बिहान ३ बजेतिर वीरेन्द्रनगर वडा नं– १४ पर्ने कटकुवा जङ्गलमा २९१ गाई–गोरु अलपत्र अवस्थामा छाडिएको थियो ।

जिल्ला प्रशासन कार्यालय बाँकेको पत्रअनुसार नेपालगञ्ज उप–महानगरपालिकाको काञ्जीहाउसबाट दैलेखको शिरस्थान धार्मिक क्षेत्रमा पठाउने भनी गाईगोरू पठाइएको थियो ।

तर शिरस्थान क्षेत्र पर्ने दैलेखको भैरवी गाउँपालिकाले भने आफ्नो तर्फबाट लिखित मौखिक कुनै माग नगरेको प्रतिक्रिया दिएको छ । गाउँपालिका अध्यक्ष प्रेमबहादुर बुढाले आफू वडा कार्यालय र मन्दिर व्यवस्थापन समितिले नेपालगञ्ज उपमहानगरपालिकासँग त्यस्तो कुनै माग नगरेको प्रष्ट पारे ।

‘यहाँ त्यति ठूलो सङ्ख्यामा गाई–गोरु पाल्न सकिने ठाउँ छैन्, भ्रमपूर्ण प्रचार गरिएको छ, शिरस्थान क्षेत्रका लागि कुनै माग भएको छैन्’ उनले भनेका छन् ।

भैरवी गाउँपालिका–१ को कार्यालय र शिरस्थान मन्दिर व्यवस्थापन समितिले पनि आफूहरुले गाई–गोरुको माग नगरेको भन्दै घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारवाही गर्न माग गरेको छ ।

यो घटनाको बारेमा सुर्खेतमा शनिबार मङ्गलगढी चोकबाट शुरु भएको र्याली वीरेन्द्रचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । पशु चौपायालाई दानवीय रुपले मार्ने र जंगलमा छोड्ने कार्यको घटनाको निन्दा गर्दै सुर्खेत उद्योग वाणिज्य सङ्घका अध्यक्ष धनबहादुर रावतले बताए ।

नेपालगञ्ज उपमहानगरपालिकाले एक प्रदेशबाट अर्को प्रदेशमा पशु ल्याएर अनुमतिबिना छोडेको हुनाले दोषी जुनसुकै भयपनी कारबाही गरिने बताईएको छ ।

मृतक गाईको नगरपालिकाको पशु स्वास्थ्य शाखाका चिकित्सकको टोलीले शुक्रबार मुचुल्का तथा शव परीक्षण गर्नुका साथै घाइतेको उपचार गरिरहेका छन् । परीक्षण रिर्पोटपछि मात्र गाईको हत्या भए-नभएको यकिन हुने प्रहरीको भनाइ छ ।