५ किलो चरेस र १२ किलो गाँजासंगै ५ जना पक्राउ,,
भदौ २९ ,हेटौडा – लागूऔषध कारोबारो चरेस र गाँजासहित प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ३ भारतीय नागरिक हुन् भने २ हेटौडाका हुन् ।
४ किलो ९ सयग्राम चरेससहित प्रहरीले भारत मुजफपुर जिरोमाइलका २८ वर्षीय शिवराज सिंह, २४ वर्षीय ज्ञानीकुमार पासवान र भारत विहारका शिवहरी तरिहानीका २४ वर्षीय राजु महतो पक्राउ परेका हुन ।
यसैगरी प्रहरीले मकवानपुरको राक्सिराङ गाउँपालिका,४ कालिका दोभानबाट १२ किलो ४ सयग्राम गाँजासहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलाश गाउँपालिका–८ का २६ वर्षीय राजकुमार थिङ र २१ वर्षीय दिपेश थिङ रहेका छन् ।
हेटौडा उपमहानगरपालिका—१५ रातोमाटे चौकीमा प्रहरीले हेटौडावाट वीरगन्जतर्फ गइरहेको बिआर ०१ पिएफ ७९९८ नम्बरको भारतीय कारलाई रोकेर चेकजाँच गर्ने क्रममा कारभित्र चरेस फेला परेको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए ।
कारभित्र फल्स बटम बनाएर १० वटा प्लाष्टिकको पोकामा चरेस लुकाएर ल्याएका थिए । भारतमा लगेर बिक्री गर्नका लागि धादिङको सिम्लाङबाट चरेस खरिद गरेर ल्याएको प्रहरी समक्ष उनीहरुले बताएका छन् ।
कालीका दोभानमा झोला बोकेर हिडिरहेको अवस्थामा कान्द्राङका प्रहरीले शंका लागेर झोला तलास गर्दा राजकुमारको झोलामा ४ केजी ८ सयग्राम र दिपेशको झोलामा ७ केजी ६ सयग्राम गाँजा फेला परेको प्रहरी उपरिक्षक सिंहले बताए ।
नेपाल प्रहरीको गत आर्थिक वर्ष (आव) को तथ्यांकले प्रदेशका अन्य जिल्लाको तुलनामा मकवानपुरमा बढी लागूऔषध कारोबार हुने देखाएको हो ।