नागढुंगा सुरुङमार्गको ठेक्का सम्झौता ,,
असोज ६ , काठमान्डौ – धादिङको सिस्नेखोलादेखि काठमाडौंको नागढुंगा जोड्ने सुरुङमार्ग निर्माण सम्झौता भएको छ । सडक विभाग अन्तरगतको नागढुंगा सुरुङमार्ग आयोजना निर्माणको ठेक्का जापानिज कम्पनी हाज्मा/एण्डो जेभीले पाएको हो ।
आयोजना प्रमुख श्यामप्रसाद खरेलकाअनुसार तिहारपछि (नोभेम्बर १)बाट सुरुङमार्ग निर्माणको काम थालिनेछ । काम थालेको साढे ३ वर्ष अर्थात ४२ महिनामा सुरुङमार्ग तयार हुनेछ । सुरुङमार्ग २ दशमलव ६८ किमी हुने छ ।
यो आयोजना करिब १५ अर्ब २५ करोडको लागतमा बन्न लागेको हो । करबाहेक सुरुङमार्ग साढे १३ अर्बमा ठेक्का लागेको हो । सुरुङमार्गका लागि जापान सरकारले १५ अर्ब रुपैयाँ ऋण दिने सम्झौता भइसकेको छ ।
जापानले ०.०१ प्रतिशत व्याजदरमा ४० वर्षका लागि ऋण उपलब्ध गराउने सम्झौतामा उल्लेख छ ।नौबीसेदेखि थानकोटसम्मको सडक खण्ड घुमाउरो र उकालो ओरालो भएका कारण यो क्षेत्रमा ट्राफिक जाम हुने गरेको छ ।
यस्तो ट्राफिक जाम न्युनीकरण गर्ने भन्दै सरकारले यस्तो योजना अघि सारेको हो । हाजमा नेपालमा राम्रो काम गर्ने इतिहास भएको जापानी कम्पनी हो । कोटेश्वर-सूर्यविनायक खण्डलाई ८ लेनमा विस्तार गर्ने काम यही कम्पनीले गरेको थियो । उसले नै बिपी राजमार्गको निर्माण गरेको हो ।