दसैंका लागि बैंकबाट ४७ अर्ब निकालीयो ,
असोज १७ , काठमान्डौ – यो वर्षको बडा दसैंको लागि विभिनन किनमेलका लागि बैंक तथा वित्तीय संस्थाबाट ४७ अर्ब रुपैयाँ बाहिरिएको छ । असोज १ गते देखि १५ गत्ते सम्म बैंक र वित्तीय संस्थाबाट झिकिएको पैसा हो ।
गत वर्षको भदौ मसान्तदेखि असोज मसान्तसम्म ६८ अर्ब रुपैयाँ बाहिरिएको थियो । यो वर्ष गएको २ सातामै करिब ४७ अर्ब रुपैयाँ बाहिरिएको राष्ट्र बैंकको तथ्यांक छ ।
चाडबाडको समयमा कारोबारी मुद्राको माग धेरै हुने भएकाले बैंकिङ प्रणालीबाट धेरै पैसा बाहिरिने राष्ट्र बैंक अनुसन्धान विभाग प्रमुख गुणाकर भट्टले बताए ।हरेक वर्ष भदौदेखि असोज महिनामा चलनचल्तीमा रहेको मुद्राको परिमाण बढ्नुले पनि यो पुष्टि हुने उनको भनाइ छ । ‘
दसैं–तिहारमा नागरिकले किनमेल (कारोबार) का लागि धेरै मुद्रा माग गर्छन्,’ उनले भने, ‘यसकारण यो अवधिमा चलनचल्तीमा रहेको मुद्रा पनि बढ्छ ।’राष्ट्र बैंकका अनुसार बुधबारसम्म ५ खर्ब ३९ अर्ब रुपैयाँ चलनचल्तीमा छ । दुई साताअघि (असोज १ मा) यस्तो रकम ४ खर्ब ९२ अर्ब रुपैयाँ थियो । मानिसले किनमेलका लागि मात्र बैंकबाट पैसा झिक्दैनन् । निक्षेपका रूपमा बैंकमा रहेको पैसा विभिन्न प्रयोजनका लागि झिकिन सक्छ ।
अहिले बैंकबाट पैसा बाहिरिएको मात्रछैन, गत दुई सातामा वाणिज्य बैंकहरूमा मात्र करिब ४७ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । असोज १ मा २८ खर्ब ८४ अर्ब रुपैयाँ रहेको वाणिज्य बैंकहरूको निक्षेप १५ मा २९ खर्ब ३१ अर्ब रुपैयाँ पुगेको राष्ट्र बैंकको तथ्यांक छ ।
अघिल्ला साताहरूमा वाणिज्य बैंकहरूको निक्षेप घट्दो अवस्थामा थियो । पछिल्ला दुई सातामा परिस्थिति फेरिएको छ । अहिले स्थानीय तहका सरकारको खातामा अनुदानबापतको रकम गएकाले बैंकको खातामा निक्षेप बढेको राष्ट्र बैंकले जनाएको छ ।
स्थानीय सरकारको खातामा रहेको रकममध्ये ५० प्रतिशत बैंक आफैंले राख्न पाउने व्यवस्था छ । बैंकमा लगानीयोग्य रकम अभाव भएपछि सरकारले यस्तो सुविधा दिएको थियो ।
वित्तीय प्रणालीमा निक्षेप बढेसँगै बैंक तथा वित्तीय संस्थामा अधिक तरलता (लगानीयोग्य रकम) पनि बढ्न थालेको छ । बुधबारसम्म बैंकिङ प्रणालीमा ४० अर्ब रुपैयाँ अधिक तरलता रहेको राष्ट्र बैंकले जनाएको छ । यो बैंकहरूले राष्ट्र बैंकमा निर्ब्याजी रूपमा राख्नुपर्ने अनिवार्य नगद मौज्दात (सीआरआर) बाहेकको हो ।
गएका दुई सातामा वाणिज्य बैंकहरूले ४९ अर्ब रुपैयाँ थप कर्जा प्रवाह गरेका छन् । असोज १ मा २८ वटा वाणिज्य बैंकको कुल ऋण प्रवाह २५ खब ६० अर्ब रुपैयाँ थियो । असोज १५ सम्म आइपुग्दा यस्तो लगानी २६ खर्ब ९ अर्ब रुपैयाँ रहेको राष्ट्र बैंकको तथ्यांक छ ।
बैंकका तरलता बढेको देखिए पनि केही बैंकहरू अझै सीसीडीको दबाबमा छन् । यसको अर्थ उनीहरूसँग लगानीयोग्य रकम अभाव छ भन्ने हो । यही कारण पछिल्ला दिनहरूमा अन्तर बैंक कारोबार बढ्न थालेको छ ।
यसले अन्तरबैंक ब्याज पनि बढाएको छ । बुधबारसम्म भारित औसत अन्तर बैंक दर ५.३७ प्रतिशत पुगेको छ । मंगलबार यस्तो दर ४.७१ प्रतिशत थियो ।
मंगलबार राष्ट्र बैंकले २० अर्ब रुपैयाँको रिपो जारी गरेकामा १२ अर्ब रुपैयाँ मात्र बिकेको छ । बिहीबारका लागि राष्ट्र बैंकले १५ अर्बको रिपो जारी गरिएको राष्ट्र बैंकले जनाएको छ ।राष्ट्र बैंकले पनि निरन्तरजसो रिपोमार्फत बजारमा पैसा पठाइरहेको छ ।