आज बडादशैँको फूलपाती ,,

असोज १८ , काठमान्डौ – आज दशैँको सातौ दिन फूलपाती देशैभर घरघरमा भित्र्याइँदैछ । घटस्थापनाका दिनदेखि विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैँघरमा उखु, हलेदो, अदुवा, केराको बोट, धानको बाला, बेलपत्र र अन्य नयाँ पालुवासमेत भित्र्याउने गरिन्छ ।

दसैंघर तथा पूजाकोठामा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र अन्य नयाँ पालुवासमेत परम्पराअनुसार फूलपाती भित्र्याइएको हो ।आज घर घरमा खसी बोका काट्ने चलन छ ।

हनुमानढोका दरबारको दशैँघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ । गोरखादेखि धादिङ जिल्लाको जीवनपुरसम्म गोरखा दरबारको दशैँघरका पुजारीसहित मगर जातिका ६ जनाले फूलपाती ल्याउने र जीवनपुरदेखि जमलसम्म काठमाडौंबाट गएका ब्राह्मण जातिका ६ जनाले ल्याउने परम्परा छ ।

जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्चपदस्थ अधिकारी, गुर्जुको पल्टन, नेपाली सेनाको ब्याण्डबाजा, पञ्चैबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती ल्याउने परम्परा छ ।

आजैका दिनदेखि सरकारी कार्यालय पनि बिदा हुने गर्दछन ।गत ५ गते बाट आज सम्म करिब २० लाखले राजधानी छोडी आफ्नो घरतिर लागेको यातायात विभागले जानकारी गरेको छ ।