विद्यादेवी भण्डारी दोस्रो पटक राष्ट्रपतिमा निर्वाचित ////
रंग दर्पण २९ फागुन -काठमाडौँ – आज भयको रास्ट्रपति चुनाबको मतदान प्रक्रियामा बहालवाल राष्ट्रपति विद्यादेवी भण्डारी दोस्रो पटक राष्ट्रपतिमा निर्वाचित भएकी छन् । जम्मा मतको दुई तिहाइ भन्दा बढी मतसहित भण्डारी दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएकी हुन् ।
संघीय गणतन्त्र नेपालको पहिलो राष्ट्रपतिमा निर्वाचित हुने क्रममा उनले ३९ हजार २७५ मत प्राप्त गरिन् । उनकी निकटतम् प्रतिस्पर्धी कुमारी लक्ष्मी राईले ११ हजार ७३० मत ल्याउन सफल भइन् ।
विद्यादेवीलाई एमाले र माओवादी केन्द्रले साझा उम्मेदवार बनाएका थिए । पराजित भएकी पूर्वसांसद् कुमारी लक्ष्मीलाई नेपाली कांग्रेसले उम्मेदवारकारुपमा अघि सारेको थियो । विजयी भण्डारी र पराजित राई दुवैजना भोजपुरमा जन्मिएका हुन् ।
राष्ट्रपतिका लागि प्रतिनिधिसभा, प्रदेशसभा र राष्ट्रियसभाका ८७९ जना मतदाताले भोट हालेका थिए । राष्ट्रियसभामा मनोनित युवराज खतिवडा, रामनारायण बिडारी, विमला पौडेल राई तथा प्रतिनिधि सभाका रेशम चौधरी र प्रदेशतर्फका सांसद दीपक मनांगे गरी पाँचजना मतदाता सूचीमा थिएनन् । कुल ८८४ मतदातामध्ये ८७९ जना मात्रै सहभागी भएका थिए ।
राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनसम्बन्धी ऐन २०७४ अनुसार केन्द्रीय संसद्को मतभार ७९ र प्रदेशको मतभार ४८ कायम गरिएको थियो। ८७९ जना मतदाताको कुल मतभार ५२ हजार ४२२ हुन्छ। राष्ट्रपतिमा बहुमतसहित निर्वाचित हुन २६ हजार २ सय १२ मतभार आवश्यक पर्थ्यो।
वाम गठबन्धनसहित राजपा तथा संघीय फोरमले पनि विद्यादेवी भण्डारीलाई भोट हाल्ने जनाएकाले उनको जित सुनिश्चित थियो। वाम गठबन्धनको भागबन्डाअनुसार एमालेको भागमा राष्ट्रपति पद परेको थियो। गत मंगलबार बसेको एमाले स्थायी समिति बैठकले राष्ट्रपतिमा भण्डारीलाई दोहोर्याउने निर्णय गरेको थियो। माओवादी केन्द्रको भागमा परेको उपराष्ट्रपतिमा पनि नन्दबहादुर पुन नै दोहारिने भएका छन्। उपराष्ट्रपति निर्वाचन भने एक साताभित्र हुने छ।
भण्डारी अब पाँच वर्षका लागि निर्वाचित भएकी छिन्। नयाँ संविधान जारी भएपछि २०७२ कात्तिक १२ मा राष्ट्रपति निर्वाचित भण्डारीले दुई वर्ष राष्ट्रपतिको पदमा रहेर भूमिका निर्वाह गरिसकेकी छन्। ०६५ साल जेठ १५ मा नेपालमा गणतन्त्र स्थापना भएपछि मुलुककै पहिलो राष्ट्रपतिमा डा. रामवरण यादव निर्वाचित भएका थिए। यादवले सात वर्ष राष्ट्रपति पदमा रहेर भूमिका निर्वाह गरेका थिए।