बंगलादेशका राष्ट्रपति नेपालमा,’गार्ड अफ अनर,

कार्तिक २६ ,काठमान्डौ – बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद मंगलबार काठमाडौँ आइपुगेका छन् । उनलाई स्वागत गर्न राष्ट्रपति विद्यादेवी भण्डारी विमानस्थल पुगेकी थिइन् । हमिदलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाले गार्ड अफ अनर प्रदान गरेको छ ।

नेपालको चारदिने औपचारिक भ्रमणका लागि काठमाडौं आइपुगेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद आजै भक्तपुरको ऐतिहासिकस्थलको भ्रमणका लागि जानेछन् भने साँझ राष्ट्रपति भण्डारीले आयोजना गरेको रात्रिभोजमा सहभागी हुनेछन् ।

भ्रमणका क्रममा उनले उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना, परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीसहित विभिन्न राजनीतिक दलका शीर्ष नेतृत्वसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

राष्ट्रपति हमिद पोखरा पनि जाने कार्यक्रम रहेको पनि परराष्ट्र मन्त्रालयले जनाएको छ । बंगलादेशका राष्ट्रपति नेपाल भ्रमण पूरा गरेर शुक्रबार स्वदेश फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।