उपनिर्वाचनमा ६५ दशमलव ४३ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान,,

मङ्सिर १४ ,काठमाडौँ — प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको शनिबार भएको उपनिर्वाचनमा ६५ दशमलव ४३ प्रतिशत मत खसेको छ ।
उपनिर्वाचनमा दुई लाख ९७ हजार एकसय ३७ जनाले मतदान गरेको हुँदा सरदर ६५ दशमलव ४३ प्रतिशत मत खसेको प्रारम्भिक विवरण प्राप्त भएको निर्वाचन आयोगले जानकारी दिएको छ ।उपनिर्वाचनमा चार लाख ५४ हजार ११४ मतदाता रहेका थिए ।
आयोगका अनुसार, प्रतिनिधिसभा सदस्यको निर्वाचन भएको कास्की जिल्ला निर्वाचन क्षेत्र नं. २ मा ६५ प्रतिशत (४६,५७५ मत) प्रदेशसभा सदस्यको निर्वाचन भएको भक्तपुरमा ७० प्रतिशत (३१,६८२ मत), बागलुङमा ६१ प्रतिशत (२१,२९५ मत) र दाङमा ६७ प्रतिशत (४५,७१९ मत) मतदान भएको छ ।

स्थानीय तहका सदस्यतर्फ धरान उपमहानगरपालिकाको प्रमुखका लागि भएको मतदानमा ५९ प्रतिशत, फाल्गुनन्द गाउँपालिका, मकालु गाउँपालिका, पिपरा गाउँपालिकाको अध्यक्षका लागि भएको मतदानमा क्रमशः ६६, ६५, ६० प्रतिशत र खार्पुनाथ गाउँपालिकाको उपाध्यक्षका लागि भएको मतदानमा ८५ प्रतिशत मतदान भएको छ ।
उपनिर्वाचनमा सबैभन्दा धेरै रौतहट र हुम्लामा र सबैभन्दा कम रोल्पा जिल्लाको थवाङ गाउँपालिका–१ को वडाध्यक्षको लागि भएको मतदानमा १६ दशमलव ४ प्रतिशत मात्र मतदान भएको आयोगले साँझ भएको पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।
शान्तिपूर्ण भएको मतदानमा छिटफुट घटनाबाहेक मतदाताको उत्साहजनक सहभागिता भएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए ।

यद्यपि, मतदान भइरहेको अवस्थामा कास्की, दाङ, सर्लाही, डोटीलगायत जिल्लामा मतदान केन्द्र नजिक सामान्य बिस्फोटका घटना भएतापनि यसबाट मतदानमा कुनै नकारात्मक प्रभाव परेको थिएन ।
मुलुकका ३७ जिल्लाका २४७ मतदानस्थल र ५३७ मतदान केन्द्रमा बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान भएको थियो । प्रतिनिधिसभातर्फ २१, प्रदेशसभा सदस्यतर्फ ४३ र स्थानीय तहका विभिन्न पदका लागि २७३ उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए ।
कास्की–२ मा प्रतिनिधिसभा, भक्तपुर, बागलुङ र दाङमा प्रदेशसभा सदस्य तथा धरानमा उपमहानगरपालिकाको प्रमुख पदका लागि उपनिर्वाचन भएको हो ।
पाँचथरको फाल्गुनन्द गाउँपालिका, सँखुवासभाको मकालु गाउँपालिका र महोत्तरीको पिपरा गाउँपालिका अध्यक्ष, हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष चयनका लागि यो निर्वाचन भएको हो । उपनिर्वाचनमार्फत ४३ वडाध्यक्ष पनि चुनिनेछन् ।
मतदान सकिएलगत्तै मतपेटीका सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुर्याएर केही स्थानमा मतगणनाको लागि आवश्यक प्रक्रियासमेत सुरु भएको छ । वडाध्यक्ष पदको मतगणनाको नतिजा आजै राति अबेरसम्म आइसक्ने आयोगले आँकलन गरेको छ,’ प्रमुख आयुक्त थपलियाले भने ।
खर्पनाथ गाउँपालिका बाहेक सबै मतपेटिका आजै राति ११ बजेसम्म मतगणनास्थलमा पुर्याइसक्ने व्यवस्था मिलाइएको छ । आगमी १२ घण्टाभित्र ५० प्रतिशतको नतिजा सार्वजनिक भइसक्ने अनुमान गरिएको छ ।रासस ,
