ग्लोबल आईमाई बैंक नेपालकै ठुलो र मजबुत ,
मङ्सिर २० ,काठमान्डौ – ग्लोबल आइएमई बैंक लिमिटेड र जनता बैंक नेपाल लिमिटेड एक आपसमा गाभिई ग्लोबल आइएमई बैंक लिमिटेडको नामबाट शुक्रबारदेखि एकीकृत वित्तीय कारोबार सुरुभएको छ ।
अर्थ मन्त्री डा. युवराज खतिवडाले आज ग्लोबल आइएमई बैंकको कर्पोरेट कार्यालयमा आयोजित एक विशेष कार्यक्रमबीच दुई बैंकको संयुक्त कारोबारको शुभारम्भ गर्नुभएको छ ।
एकीकृत भइसकेपछि ग्लोबल आइएमई बैंक पूँजी, व्यवसाय, शाखा संजाल समेतका हिसावले नेपालकै ठूलो तथा मजबुत बैंक बनेको छ ।
बैंकको प्राथमिक पूँजी करिब २४ अर्ब रुपियाँ (चुक्ता पुँजी करिब १९ अर्ब रुपियाँ र संचित कोष गरी), कुल निक्षेप २ खर्ब १३ अर्ब रुपियाँ र कुल कर्जा १ खर्ब ९४ अर्ब रुपियाँ भन्दा बढी पुग्नेछ ।
त्यस्तै ७ वटै प्रदेश तथा ७७ वटै जिल्लामा पुग्ने गरी बैंकको ३ सयभन्दा बढी शाखा, २५९ एटीएम, २४३ शाखा रहित बैंकिङ्ग सेवा, ३३ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८४० भन्दाबढी सेवा केन्द्रबाट सेवा प्रदान गर्न सक्षम हुनेछ ।
कार्यक्रममा बौल्दै अर्थ मन्त्री डा. खतिवडाले मुलुकमा अर्थतन्त्रको संरचना परिवर्तन हुन लागेको बताउँदै देशले अल्पकालिन मात्र नभएर मध्यकालिन र दीर्घकालिन लगानी मागिराखेको बताउनुभयो ।
“यसका लागि पनि ठूलो संरचना भएका वित्तीय संस्थाहरुको सञ्चालन सकारात्मक कुरा हो । यो मर्जरबाट देशका अरु पनि बैंक तथा वित्तीय संस्थाहरुले सिकुन्,” उहाँले भन्नुभयो ।
नेपाल राष्ट्र बैंकका गभर्रनर डा. चिरन्जीवि नेपालले बैैंक पुँजी लगायत सबै हिसाबले ठूलो वित्तीय संस्था बनेकोले त्यसै अनुरुप काम गर्न सुझाव दिनुभयो । “यो ठूलो वित्तीय संस्था भयो, पुँजी र सबै हिसाबले ।
अब निक्षेपकर्ताहरुको अपेक्षा पनि बढ्न जान्छ, त्यसैले त्यसतर्फ काम गर्नुहोला । कुनै पनि संस्था ठूलो हुनुसँगै यसका चुनौतीहरु पनि बढ्छन् नै । त्यसैले खतरा या चुनौतीको व्यवस्थापनमा पनि ध्यान पुगोस,” उहाँले भन्नुभयो । “
बैंकहरुमा पछिल्लो समयमा धेरै कमजोरी देखिएका समाचार सुनिन्छ, उहाँले भन्नुभयो यस्ता चुनौतीबाट बैंकलाई बचाउन डिजीटलाइजेसनमा बढी लगानी गर्नुपर्छ ।
यसका साथै आफ्ना कर्मचारीलाई समय सापेक्ष तालिम दिने, उनीहरुलाई अद्यावधिक गर्ने र सक्षम बनाउने काम पनि अघि बढाउनुप¥यो,” उहाँले भन्नुभयो ।
नेपाल राष्ट्र बैंकको नीतिको पालना गरेकोमा खुशी व्यक्त गर्दै उहाँले यसबाट अरु बैंकहरुले पनि सिक्नुपर्ने बताउनुभयो । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले बैंक ठूलो हुनु भनेको सोही अनुरुप जिम्मेवारी पनि ठूलो हुनु रहेको बताउनुभयो ।