कार प्रयोग गरि चोरी गर्ने समूह पक्राउ ,
माघ १९ ,काठमान्डौ – काठमान्डौ उपत्यकामा कार चढेर चोरी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।
कार प्रयोग गरेर काठमान्डौ उपत्यकाका घरहरुमा चोरी गर्ने चार जनाको गिरोहलाई महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी वृत्त कमलपोखरीको संयुक्त टोलीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा दोलखा घर भएका ३० वर्षीय रवि कार्की, काठमाडौँका १९ वर्षीय राजन खनाल, काभ्रे पाँचखालका २० वर्षीय उपेन्द्र खरेल र सुनचाँदी पसलका सञ्चालक रहेका खोटाङका ४३ वर्षीय मौलकुमार विक रहेका छन् ।
चोरी गर्ने क्रममा उनीहरुले बा३ख ६२७६ नम्बरको गाडी प्रयोग गरेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए ।
उनीहरुले रामेछाप गोकुलगंगा गाउँपालिका–३ घर भई हाल काठमाडौँस्थित भत्केको पुल बस्दै आएका विष्णुबहादुर कार्कीको कोठाबाट पुस २८ गते दुई लाख रुपैयाँ, २० तोला सुन र सामसुङ मोबाइल चोरी गरेर फरार भएका थिए ।
कार्कीको जाहेरीको आधारमा माघ १५ गते बुढानिलकण्ठ नगरपािलका–१३ चुनिखेलस्थित चोरी गरी लगेको सामानसहित तीन जनालाई पक्राउ गरिएको एसएसपी थापाको भनाइ छ ।
उनीहरुले चोरेका सुनका गहना गोकणेश्वर नगरपालिका–५ स्थित निश्चल सुनचाँदी पसलमा बिक्री गरेको प्रहरी अनुसन्धाबनबाट खुलेको हो ।
चोरीको सामान किन्ने उक्त सुनचाँदी पसलका सञ्चालक मौलबहादुर विकलाई पनि पक्राउ गरिएको महाशाखाका प्रवक्ता एसपी मुकेश कुमार सिंहले बताए ।
अनुसन्धानको क्रममा पुस २० गते काठमाडौँ महानगरपालिका–२६ गल्कोपाखा सामाखुसी देबुमार्गस्थित अशोक कुमार यादवको कोठाबाट १ लाख ६० हजार तथा सुन चोरी गर्दा प्रयोग गरिने रवि कार्कीको नाममा रहेको बा३ख ६२७६ नम्बरको कार समेत बरामद गरिएको प्रवक्ता सिंहले रातोपाटीलाई बताए ।
पक्राउ परेका चारै जनामाथि जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी महानगरीय प्रहरी वृत्त कमलपोखरीबाट अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।