प्रहरी महानिरीक्षकमा ठाकुर ज्ञवाली नियुक्त

माघ २८ ,काठमान्डौ – ठाकुर ज्ञवालीलाई प्रहरी महानिरीक्षकमा नियुक्त भएका छन् ।मंगलबार अपरान्ह बसेको मन्त्रिपरिषद बैठकले ज्ञवालीलाई आईजीपीमा नियुक्त गरेको हो ।

सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ज्ञवालीलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्ने निर्णय भएको बताएका हुन् ।

प्रहरी नियमावलीको परिच्छेद ४ को बढुवा सम्बन्धी व्यवस्थाको दफा ४१ अनुसार ज्ञवालीको बढुवा गरिएको हो ।

प्रहरी नायब महानिरीक्षक मध्येबाट ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व बहन गर्न सक्ने क्षमता, नेतृत्व प्रदान गर्न सक्ने कुशलता लगायतका आधारमा उनी बढुवा भएका हुन् ।

हाल प्रहरी नायब महानिरीक्षकका रुपमा ज्ञवाली प्रदेश नं. १ प्रहरी प्रमुखका रुपमा कार्यरत् थिए ।

निवर्तमान आईजीपी सर्वेन्द्र खनालसहित तीन एआईजी र उनका ब्याचका डीआईजीहरुले सेवाहदका कारण मंगलबारबाट अवकाश पाउँदैछन् । जसको कार्यभारमा अब ज्ञवाली रहने छन् ।

ठाकुर २०२२ असोज २८ गते प्यूठानको तत्कालीन बाधिकोट गाविसमा जन्मीएका हुन ।

ज्ञवालीले राजनीति शास्त्रमा एमए गरेका छन् । काठमाडौंको वनस्थलीमा बस्दै आएका ज्ञवाली प्रहरी निरीक्षकबाट डीआईजीसम्म पुग्दा कुनै विवादमा मुछिएका छैनन् ।

यसअघि दाङ, रुकुम, बारा, झापा, केन्द्रीय अनुसन्धान ब्युरो, प्रदेश नम्बर एकको प्रहरी प्रमुख, लागुऔषध नियन्त्रण ब्युरोमा काम गरिसकेका छन् । २०४७ असार २५ गते प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका हुन् ।