नेपाल बैंक लिमिटेडको ब्राण्ड एम्बेस्डरमा महावीर पुन ,
फागुन २० ,काठमान्डौ – नेपाल बैंक लिमिटेडको ‘ब्राण्ड एम्बेस्डर’मा डा. महावीर पुन नियुक्त भएका छन्।
युवा वैज्ञानिक महावीर पुन राष्ट्रिय आविष्कार केन्द्र नेपालका अध्यक्ष पनि हुन्। पुनले आफुले आफ्नै देशमा केहि गर्ने युवाहरुलाई आर्थिक विकासमा योगदान दिने काम गरिरहेका छन् ।
सरकारको तरफबाट आफुलाई कुनैपनि कुरामा सहयोग नभएपछि पुनले केहि महिना अगाडी मात्र आफुलाई सैकडा १० प्रतिशतमा ऋण उपलब्ध गराउन सामाजिक संजालमार्फत आवाहन गरेका थिए ।
देशमै केहि गर्ने सोच भएका युवाहरुलाई उद्दमी बन्न र मुलुकको आर्थिक विकासमा योगदान दिन अगाडी बढिरहेका पुनलाई नेपाल बैंक लिमिटेडको एम्बेस्डर नियुक्ति सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र डा. पुनले सोमबार हस्ताक्षर गरेका हुन् ।
पुनले राष्ट्रिय आविष्कार केन्द्र स्थापना गरेर नयाँँ सोच भएका युवालाई उद्यमी बन्न प्रेरित गरिरहेका छन् । जसको लागि सरकारले पुनलाई सघाउनुपर्ने आम नेपालीको माग छ ।
जनस्तर र विदेशीको सहयोगमा स्थापित केन्द्रले ड्रोन, बायोमेडिकल, कृषि, शिक्षा, स्वास्थ्यलगायतका २० वटा क्षेत्रमा नयाँ,नयाँ अनुसन्धानको काम गरिरहेको छ।
वायरलेस प्रविधिद्वारा देशको ग्रामीण क्षेत्रमा सूचना प्रवाह गर्ने लक्ष्य बोकेर नेपाल वायरलेस सञ्जाल परियोजनामार्फत इन्टरनेट सञ्जाल विस्तार गर्न पुन सफल व्यक्ति हुन् ।
म्याग्दी जिल्लाको नागीगाउँमा जन्मिएका उनले एसियाको नोबेल पुरस्कारले चिनिने ‘रोमन मेग्यासेसे अवार्ड’ जस्ता महत्त्वपूर्ण सम्मान पाएका छन्।
नेपालको सबैभन्दा पुरानो र पहिलो नेपाल बैंक लिमिटेडको ब्राण्ड एम्बेस्डर’मा डा. महावीर पुन नियुक्त भएपछि उनले खुसि व्यक्त गरेका छन्।
उनले आफ्नो सामाजिक संजालमा लेखेका छन् दान गर्ने अर्को तरिका थाहा पाउनुहोस।
लौ त आज देखि राष्ट्रिय आविष्कार केन्द्रको तरफ बाट म महाबीर पुनले राणा शासन कै समयमा स्थापना भएको ८२ बर्ष पुरानो नेपाल कै पहिलो बैंक “नेपाल बैंक लिमिटेड” को व्यापारिक प्रबर्धनको लागी ब्राण्ड एम्बेसेडरको काम गर्ने भयो।
सो काम गरे बापत राष्ट्रिय आविष्कार केन्द्रलाई पहिलो चरणमा नेपाल बैंक लिमिटेड बाट रु,१० लाख प्राप्त भयो।
अब बैंक बाहेक अन्य कुनै पनि कम्पनी र ब्यबसायहरुले मलाई ब्राण्ड एम्बेसेडर बनाएर राष्ट्रिय आविष्कार केन्द्रलाई दान गर्न चाहनु हुन्छ भने ढोका खुला छ र म तयार छु।
सो सम्झौतामा आज नेपाल बैंक लिमिटेडका सिईओ कृष्णबहादुर अधिकारी र आविष्कार केन्द्रको तरफ बाट मैले उक्त बैंकका उच्च स्तरका ब्यबस्थापन टीमको उपस्थितिमा हस्ताक्षर गरियो।
कृपया यस्तो खबर सुनेर अचम्म नमान्नु होला। भगवानले जे गर्छन राम्रै गर्छन भनेको यहि हो। लौजात ।।।