दुर्घटनामा संविधानसभा सदस्य घिमिरेको मृतु ,
फागुन २० ,काँकडभिट्टा- तत्कालीन संविधानसभाका सदस्य ७५ वर्षीय धर्म घिमिरेको सवारी साधनको ठक्करबाट भारतमा मृत्यु भएको छ ।
पश्चिम बंगालको बागडोग्रा नजिकै गेस्टापो भन्ने स्थानमा उनको शव मंगलबार बिहान फेला परेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डीएसपी राजेन्द्र पोखरेलले बताए ।
मंगलबार बिहान ३ बजेतिर उनलाई नक्सलबारी,बागडोग्रा सडक खण्डको एसियन हाइवेमा सवारीले ठक्कर दिएको प्रहरीको अनुमान छ ।
घिमिरे आठ वर्ष देखि डिप्रेसनको औषधि सेवन गरिरहेका थिए । मानसिक रोगबाट ग्रसित रहेका उनि तीन दिनदेखि मेचीनगर,१३ चारआलीस्थित डेराबाट बेपत्ता रहेको पारिवारिक श्रोतले बतायो ।
पछिल्लो समययता पारिवारिक समस्याका कारण उनी तनावमा रहेको र श्रीमतीसंग डेरामा बस्दै आएको पनि पारिवारिक श्रोतले जनाएको छ ।
२०२८ सालको झापा विद्रोहका योद्धा घिमिरेले करिब ९ वर्ष जेलनेल भोगेका थिए।उनका दाजु नेत्र घिमिरेसहित पाँच जना विद्रोही नेतालाई २०२९ फागुन २१ मा तत्कालीन सत्ताले झापा–इलामको सुखानी जंगलमा गोली हानी हत्या गरेको थियो।
दाजुको हत्यापछि उनी ज्यानको बाजी राखेर पञ्चायतविरोधी गतिविधिमा सक्रिय बने। यही सिलसिलामा पक्राउ परे।
२०३३ चैत २८ गते सीपी मैनाली, प्रदीप नेपालसहित उनी पनि नख्खु जेल ब्रेक गर्नेमा घिमिरे पनि थिए। केही नेता भूमिगत राजनीतिमा सक्रिय बने।
उनी भने पक्राउ परे। करिब ९ वर्ष चरम यातनासहित जेल जीवन गुजारे। बहुदलपछि जेलमुक्त भएका उनी लामो समय राजनीतिबाट टाढा रहे।
तत्कालीन माओवादीले २०६४ सालको संविधानसभा निर्वाचनमा झापा क्षेत्र नं. १ बाट उनलाई उम्मेदवार बनायो।
कांग्रेसका नरेन्द्रविक्रम नेम्वाङलाई भारी मतले पराजित गर्दै उनी विजयी बने। दोस्रो संविधानसभामा टिकट नपाएपछि राजनीतिबाट टाढिँदै गए।
उनको बुधबार अन्त्येष्टि गरिने पारिवारिक श्रोतले जनाएको छ ।उनका पत्नी, एक छोरा र दुई छोरी छन्।