पर्सा निकुञ्जमा गोलि हानाहान एक जनाको मृतु ,

चैत १४ ,काठमान्डौ – पर्सा राष्ट्रिय निकुञ्जमा वन्यजन्तु चोरी तस्करी समूह र निकुञ्जमा सुरक्षार्थ खटिएका सुरक्षाकर्मीबीच शुक्रबार गोली हानाहान भएको छ ।

दोहोरो गोलि हानाहानमा निकुञ्ज सुरक्षार्थ खटिएका नेपाली सेनाले चलाएको गोली लागेर शिकारी समूहका एक जनाको मृत्यु भएको छ भने घटनामा नेपाली सेनाका जमदार मिनबहादुर छन्त्याल घाइते भएका छन् ।

निकुञ्जको मुख्यक्षेत्रमा ११ जनाको समुहले सुरक्षाकर्मीलाई देखेपछि फायरिङ्ग गरेको र त्यसको जवाफमा सुरक्षाकर्मीले गोली चलाएको थियो ।

lekbesi

बिहान करिब साढे ९ बजेको समयमा वन्यजन्तु चोरी शिकारी समूहले गोली चलाएपछि त्यसको जवाफमा फायरिङ्ग गर्दा परिचय खुल्न नसकेका एक व्यक्तिको मृत्यु भएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रवक्ता विष्णुप्रसाद श्रेष्ठले बताए ।

बन्दको मौका छोपेर वन्यजन्तुको चोरी सिकारी हुनसक्ने भन्दै निकुञ्जमा गस्ती बढाईएको श्रेष्ठले बताए । नियमित गरिने निकुञ्जको गस्ती क्षेत्रमा फायिरङ्गको आवाज आएपछि निकुञ्ज सुरक्षार्थ खटिएको सुरक्षा गस्ती टोली त्यसतर्फ गएको थियो ।

सेनाको गस्ती टोलीलाई देख्ने बित्तिकै चोरी शिकारी समूहले गोली चलाएको जसमा जमदार छन्त्याल घाइते भएको पनि उनले बताए ।

शिकारी समूहका एक जनाको मृत्यु भएको छ । अन्य व्यक्तिहरु भने बन्दोबस्तीसहितको हतियारहरु छाडेर फरार भएका छन् । गस्तीमा खटिएका सुरक्षा गस्ती टोलीले मकवानपुरका मोहनसिंह दोङ्गलाई पक्राउ गरेको उनले बताए ।

घटना स्थलबाट सुरक्षाकर्मीले दुई थान बन्दुक, धारिलो हतियार ,बारुद लगायतका सामानहरु समेत बरामद गरेको श्रेष्ठले बताए ।