प्रधानमन्त्री ओलीलाई नयाँदिल्लीमा गृहमन्त्री राजनाथ सिंहको स्वागत ,,
चैत २३- नयाँ दिल्ली – प्रधानमन्त्री केपी शर्मा ओली तीन दिने राजकीय भ्रमणकालागि आज दिल्ली आइपुगेका छन् । नेपाल एयरलायन्सको विमानबाट बिहान १०.४५ मा आइपुगेका ओलीलाई इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा भारतीय गृहमन्त्री राजनाथ सिंहले स्वागत गरेका छन् ।ओलीको स्वागतका लागि सिंहसँगै भारतीय वित्तिय राज्य मन्त्री शिवप्रताप शुक्ल र नेपाली दूतावासका तर्फबाट कार्यवाहक राजदूत भरतकुमार रेग्मी विमानस्थल पुगेका थिए । भारत सरकारले प्रधानमन्त्री ओलीलाई राष्ट्रपति भवनमा बस्ने व्यवस्था गरियको छ ।
विमानस्थलबाट ओली सिधा राष्ट्रपति भवन पुगेर केही बेरको आरामपछि धौलाकुँवा स्थित ताज प्यालेसमा भारतीय व्यवसायी समुदायको कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । समयतालिका फेरबदल नभएमा प्रधानमन्त्री ओलीलाई भारतीय काँग्रेस आइका अध्यक्ष राहुल गान्धीले राष्ट्रपति भवनमा आजै भेटने कार्यक्रम रहेको बुझिएको छ । त्यसैगरी भारतीय जनता पार्टीको नेताहरुले ओलीसँग अनौपचारिक भेटघाट गर्ने बुझिएको छ ।
साँझ नेपाली दूतावासको प्राँगनमा प्रवासी नेपालीहरुलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । आजै साँझ नेपाली दूतावासले प्रधानमन्त्रीको सम्मानमा दि-इम्पेरियल होटलमा आयोजना गर्ने रात्रीभोजमा सहभागी पछि प्रधानमन्त्री ओलीको आजको कार्यक्रम सकिने छ । ५४ सदस्यको प्रतिनिधि मण्डलको नेतृत्व गर्दै भारतको राजकीय भ्रमणमा आएका ओलीको भ्रमण दलमा पत्नी राधिका शाक्य, भौतिक पूर्वाधार मन्त्री रघुबीर महासेठ , उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादब लगायत सहभागी छन् ।