लिपुलेखको विरोध नेपालले अरुकै ईसारामा गरिरहेको छ ,
जेठ २ ,काठमान्डौ – लिपुलेखको विषयमा कुनै विरोध नरहेको भारतका सेना प्रमुख मनोज नरवानेले बताएका छन् ।
लिपुलेखको बारेमा नेपालले विरोध गर्नुको कारण अरुकै इसारामा हुनसक्ने पनि उनले बताए ।
भारतीय रक्षा मन्त्रालय अन्तर्गतको थिङ्क ट्याङ्क द मनोहर पर्रिकार इन्स्टिच्युट अफ् डिफेन्स स्टडिज एण्ड एनालाइसिस आइडीएसएले गरेको कार्यक्रममा उनले नाम उल्लेख नगरि नेपालले लिपुलेकको मुद्दा अरु कसैको इसारामा उचालेको आरोप लगाएका हुन् ।
उनले नेपाली भूमि काली नदी पूर्व रहेको तर भारतले बनाएको बाटो पश्चिममा रहेको दाबी गर्दै भारतले बनाएको सडकबारे नेपाली पक्षले आपत्ति जनाउनुपर्ने कुनै कारण नभएको दाबी गरेका छन् ।
सेना प्रमुख नरवानेले यो सडक कैलाश मानसरोवर जाने तीर्थयात्रीका लागि छोटो भएकाले यसमा कुनै विवाद नरहेको धारणा राखे ।
भारतले गएको हप्ता नेपाली भूमि हुँदै निर्माण गरेको ८० किलोमिटरको बाटो उद्घाटन गरेपछि नेपालले आपत्ति जनाउँदै आएको छ ।
तर भारतले भने सडक आफ्नै भूमिमा बनेको दाबी गर्दै आएको छ । कालापानी लिपुलेखको विषयलाई लिएर नेपालमा सदन देखि सडक सम्म आवाज उठिरहेको छ ।