कर्णाली प्रदेशका मुख्यमन्त्री सहित १६४ जनाको स्वाब सङ्कलन,
जेठ ९ ,काठमान्डौ – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही मन्त्रिहरु तथा प्रदेशसभासहित मातहातका कर्मचारी सहित १६४ जनाको स्वाब सङ्कलन गरिएको छ।
आउँदो ११ गते बस्ने प्रदेश सभाको बैठकको लागि कोरोना भाइरसको जोखिम हुन नदिन स्वाब सङ्कलन गरिएको हो।
प्रदेश सरकारका मुख्यमन्त्री शाही, आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारी, सामाजिक विकास मन्त्री दल रावल, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसी र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाको ‘नोजल स्वाब’ सङ्कलन गरिएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख चेतननिधि वाग्लेले जानकारी दिनुभयो ।
त्यसैगरी प्रदेश सभाका सभामुख राजबहादुर शाही, उपसभामुख पुष्पा घर्तीलगायत ४० प्रदेश सभा सदस्य, सुरक्षाकर्मी, मर्यादापालक कर्मचारी, सवारी चालक र केही सञ्चारकर्मीको पनि सङ्कलन गरिएको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘स्वाब सङ्कलन गरिएका सबैको पीसीआर विधिबाट कोरोना परीक्षण गरिने छ । प्रदेश सभा सचिव जीवराज बुढाथोकीले सबैको कोरोना परीक्षणको रिपोर्ट प्राप्त भएपछि निर्धारित मितिमा बैठक सुरु हुने जानकारी दिए।
बैठकमा मुख्यमन्त्रीसहित प्रदेश मन्त्री तथा प्रदेश सभाका सदस्यमात्र बैठक कक्षमा प्रवेश गर्न पाउने छन्। सञ्चारकर्मी, मन्त्रालयका कर्मचारी र दर्शकलाई बैठकको दृश्यबाहिर भिडियोबाटै देखाइने बताईएको छ ।
प्रदेश सभामा प्रवेश गर्ने सबैलाई अनिवार्य रुपमा माक्स तथा पञ्जा लगाउने सामाजिकदुरी कायम गरि आसन ग्रहण गराउने व्यवस्थापन भईरहेको बुढाथोकीले बताए।
प्रदेश सभा सचिवालयलाई विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार कोरोना विरुद्द अपनाउनुपर्ने सबै सावधानी सहायो गरिने सामाजिक विकास मन्त्रि दल रावलले बताए।
तस्विर :मुख्यमन्त्री शाहीको सामाजिक संजालबाट ,