कर्णाली प्रदेशमा कोरोना नियन्त्रण र सम्भावित खाद्यान्न संकटलाई हेरी बजेट ल्याउन सुझाव ,

जेठ १३ ,काठमान्डौ – कर्णाली प्रदेश विपद् व्यवस्थापन कोषमा प्रदेश माननीय सदस्यहरुको तर्फबाट आधा महिनाको पारिश्रमिक जम्मा गर्ने निर्णय गरिएको छ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेश संसदीय दलका नेता एवं माननीय मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको अध्यक्षतामा हिजो १२ गते सोमबार बिहान बसेको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो।

बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले सरकारद्वारा प्रस्तुत गरिने आगामी आर्थिक वर्षको वजेटका सिद्धान्त, उदेश्य र प्राथमिकताका मुलभूत पक्षहरुको बारेमा जानकारी गराएका थिए।

lekbesi

कर्णाली प्रदेशमा कोरोना नियन्त्रण र सम्भावित खाद्यान्न संकट समस्या समाधान हुनेगरी बजेट निर्माण गर्न बैठकमा सहभागी सदस्यहरुले प्रदेश सरकारलाई ध्यानाकर्षण गरेका छन्।

कर्णाली प्रदेश सरकारले कोरोना भाईरस रोकथाम ,नियन्त्रण र उपचारको लागि सरकारले प्रभावकारी कदम चालिरहेको पनि बैठकमा छलफल भएको थियो।

यो महामारीको विषम परिस्तिथिमा दिनरात सुरक्षामा खटिएका कर्णाली प्रदेश सरकार, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतलाई धन्यवाद दिने पनि बैठकले निर्णय गरेको छ।

बैठक सुरु हुनुभन्दा अगाडी प्रदेश सभा सदस्य माननीय करबीर शाहीकि आमाको निधनप्रति दुःख प्रकट गर्दै मृतकप्रति श्रद्धान्जली एवं शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेश संसदीय दल सचेतक माननीय सीता नेपालीले बताईन ।