चिनियाँ भर्चुअल संवादबारे नेकपामा विवाद,

असार ५ ,काठमान्डौ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का नेताहरुबीच हुने भर्चुअल संवादबारे नेकपामा विवाद देखिएको छ ।

पार्टीको विदेश विभागलाई थाहै नदिई चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागसँग कार्यशाला गोष्ठी आयोजना गरेको भन्दै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरुले असन्तुष्टि जनाएका छन् ।

शुक्रबार अपरान्ह भिडियो कन्फरेन्समार्फत दुवै देशका पार्टी नेताहरुबीच विभिन्न विषयमा छलफल तथा अनुभव आदानप्रदान गर्न भिडियो कन्फरेन्स हुँदैछ ।

lekbesi

नेकपाको विदेश विभाग प्रमुख वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल हुन् भने विदेश विभाग उपप्रमुख समेत रहेका विष्णु रिजालले हुन् ।उनले  गोष्ठीका बारेमा केहि थाहा नभएको हुनाले केही नसोध्न आग्रह गरेका छन् ।

चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभाग, चिनियाँ कम्युनिष्ट पार्टी तिब्बत स्वशासित कमिटी र नेकपाको केन्द्रिय पार्टी स्कुल विभागको संयुक्त आयोजनमा हुन लागेको गोष्ठीमा अध्यक्ष पुष्पकमल दाहाल, उपप्रधानमन्त्री तथा रक्षामन्त्रीसमेत रहेका नेकपा स्कुल विभाग प्रमुख ईश्वर पोखरेल लगायतका उच्च पदाधिकारीहरु सहभागी हुँदैछन् ।

चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग प्रमुख सोङ थाओलगायतका नेताहरुले कार्यक्रममा प्रशिक्षण दिने जनाइएको छ ।

यो कार्यक्रम प्रशिक्षण नभएर सरकार र पार्टी सञ्चालनमा दुई कम्युनिस्ट पार्टीबीचको अन्तरक्रिया रहेको नेकपाले जनाएको छ ।