नौमुलेको समृद्धि र कछुवा गतिमा नेतृत्व,

किशोर सुवेदी ,

असार ६ ,काठमान्डौ – दैलेख नेपालको कर्णाली प्रदेश अन्तर्गतको प्राकृतिक ,धार्मिक ,सास्कृतिक ,जलस्रोत , जडिबुटी र जङ्गल मा भरिपुर्ण एक ऐतिहासिक जिल्ला हो।

जहाँ प्राकृतिक रूपमा थुप्रै हेर्न लायक ठाउहरु छन।देश संघीयतामा प्रवेश गरेपछि दैलेख जिल्लालाई एघार स्थानीय तहमा बिभाजन गरिएको छ।ती स्थानीय तह को नामाकरण पनि गरिएको छ।

जस अन्तर्गतको एउटा गाउँपालिका हो नौमुले।साबिकको नौमुले गाबिस को नाम बाट नै यो गाउँपालिकाको नाम राखिएको हो।नौमुले नाम नौ वटा मुल को उत्पती भएको ऐतिहासिक धार्मिक आधारमा नामाकरण गरिएको हो भन्ने छ।

lekbesi

साबिक को नौमुले इलाका अन्तर्गतका तोलि ,वालुवाटार ,द्वारी,कालिका ,नौमुले,सल्लेरी र चौराठा गाबिस लाई समेटेर समग्र नौमुले गाउँपालिकाको निर्माण गरिएको हो।

साबिकका सात वटा गाबिस मध्य सल्लेरी गाबिस लाई दुईवटा वडा मा बिभाजन गरिएको हो।त्यसैले नौमुले गाउँपालिकामा आठ वटा वडाहरु रहेका छन् ।

राज्यको पुनःसंरचना भैसकेपछी सबै स्थानीय तहको पहिलो चरणमा स्थानीय निर्वाचन २०७४ बैशाख ३१ गते सम्पन्न भयो।नौमुलेमा मुख्य तीन पार्टी कांग्रेस ,एमाले र माओवादी केन्द्र को त्रिपक्षीय चुनावी लडाइँ भयो।

चुनावी प्रचारप्रसार तिनै पार्टीका दमदार रूपमा भैरहेको थियो।माओवादी केन्द्रको तर्फबाट बौद्धिक नेतालाई मैदान मा उतारिएको थियो भने एमाले का स्थानीय एक नेता लाई खडा गरिएको थियो ।

 

त्यसैगरी कांग्रेसको तर्फबाट एकजना जडिबुटी ब्यापारी लाई चुनावी मैदानमा ल्याइएको थियो।त्यतिखेर चुनावमा कांग्रेस र एमाले झस्किरहेको अवस्था थियो।

किनभने माओवादी केन्द्रले रास्ट्रिय लेभलका एक बौद्धिक बुद्धिजीवी नेतालाई मैदानमा भिडाएको थियो।

माओवादी केन्द्र को नौमुले मा संगठन बलियो नभएपनी उम्मेदवार बलियो भएको कारणले चुनाव माओवादी केन्द्र कै पोल्टामा पर्ने धेरैको आकलन रहेको थियो भने केही जानेबुजेका जनताहरुले माओवादी का भ्रष्ट नेताहरुले बौद्धिक नेतालाई सिद्धाउनका लागि उमेदवार बनाएको बताउथे।

पछि भयो पनि त्यस्तै संगठन नै नभएको ठाउमा भोट मार्फत चुनाव जित्न असम्भव जस्तै थियो।

तत्कालीन अवस्था मा नौमुले मा एमाले बलियो हुदाहुदै पनि आन्तरिक किचलो का कारण हार ब्यहोर्नुपरेको थियो।

अझ रोचक तथ्य त छ भने कांग्रेस र माओवादी केन्द्र को तर्फबाट उपाध्यक्षमा एमालेबाट आयातीत गरेर उठाइएको थियो।

अन्तिममा चुनावी मत परिमाण कांग्रेसको पक्षमा आयो।आठ वटा वडा मध्ये २,३,५,६ र ७ सहित अध्यक्ष र उपाध्यक्ष कांग्रेसले जित्यो भने बाकी १,४ र ८ वडा मा एमाले ले जित हासिल गर्यो।माओवादी केन्द्र को द्वारी मा एउटा चवानी सदस्य बाहेक अरु हात लाग्न सकेन।

चुनाव पछि नौमेले गाउँपालिकामा कांग्रेसको सरकार चल्यो।पार्टी जुनसुकै भएपनी जनतालाई विकास र समृद्धि आवश्यक हो।

स्थानीय निकायको निर्वाचन भएको गएको बैशाखमा ३ वर्ष पूरा भैसकेको छ।अहिलेसम्म गाउँपालिका को नेतृत्व मा जनताका लागि जनताले सम्झिने गरि त्यस्तो चमत्कारीक कार्य केही भएको छैन ।

 

दैलेख जिल्लाको नौमुले गाँउपालिका,

बजेट अनुत्पादकमुलक कार्यमा खर्च भइरहेको कुरा यत्रतत्र सर्बत्र सूनिन्छ र प्रत्यक्ष रूपमा देख्न सकिन्छ।जब नेतृत्व असक्षम हुन्छ तब सेवाग्राही अर्थात सर्वसाधारण जनताले धोका पाउछन् ।

गाउँ समाजको उन्नति र प्रगति शुन्य जस्तै हुन्छ।हरेक कुरा लाई राम्रो र सुन्दर बनाउनका लागी हरेक ठाउमा भएका नेतृत्व को पहिलो जिम्मेवारी र कर्तव्य हुन आउँछ।

नौमुलेमा सत्तापक्ष नेतृत्व ले राम्रो गर्न सकिरहेको छैन त्यो हरेक सचेत सर्वसाधारण आम जनताले बुझ्ने कुरा हो तर प्रतिपक्षी पार्टी ले पनि समृद्ध नौमुलेको लागि पहलकदमी र खबरदारी गरेको देखिदैन।भ्रष्ट र दलालगिरी मा सत्तापक्ष संग साजेदारी गरेको पाइन्छ।

अहिले नौमुलेमा मुख्य दुई पार्टी छन कांग्रेस र नेकपा ।नेकपा जिल्ला कमिटीमा नौमुले बाट प्रतिनिधित्व गर्ने नेताहरु झण्डै डेढ दर्जन छन।प्रदेश कमिटीमा २ जना जिल्ला पार्टी सचीव पनि नौमुलेकै तर पनि नौमुलेको समृद्धि को सपना देखेको पाइदैन।

केन्द्र देखि स्थानीय लेभल सम्म प्रभाव राख्न र समृद्ध नौमुले निर्माण गर्न सक्ने नेताहरु नेकपामा हुदाहुदै पनि नौमुले प्रती त्यति चासो देखाएको देखिदैन।

नेकपा का नेताहरु आफ्नो टोल केन्द्रित योजना निर्माण गरेर बजेट पारी आफू अनुकुल (भनेको मान्ने सोझो) उपभोक्ता समिति निर्माण गरि थुप्रै आर्थिक चलखेल गर्न माहिर छन।

मुख्यमन्त्री स्वरोजगार कार्यक्रमको बजेट एउटा टोल केन्द्रित गर्नु यसको एउटा ज्वलन्त उदाहरण हो।योजना निर्माणाधीन छ काम हेर्न बाकी छ।

असार मा किसानहरुलाइ काम ले पेलिरहेको छ भने अर्कोतिर विश्वमा महामारीको रूपमा फैलिएको कोरोना भाइरसको त्रासले सताइरहेको छ तर पनि योजना निर्माण कार्य जारी गरिराखिएको छ।

नेताहरुले जनता सचेत भै आलोचना र खबरदारी गरेको मन पराउदैनन किनभने आफू अनुकुल योजना निर्माण गर्न नसक्नुका साथै भ्रष्टाचार गर्न नपाउने हुन्छ ।

त्यसैले जनता सधै लाटो भइरहोस् भन्ने छुद्र नेतृत्वको चाहाना हुन्छ।अहिले नौमुले मा पनि छुद्र नेतृत्वका घृणित ब्यवहारले नौमुले लाई भौतिक विकासमा पछि पारीरहेको छ।

समृद्ध नौमुले निर्माण गर्ने थुप्रै आधार र स्रोतहरु हुदाहुदै पनि विकासले गति लिन सकेको छैन ।यहाँ पर्यटन को थुप्रै सम्भावना छ।जलस्रोतमा झनै धनी नौमुले अहिले तीनवटा जलविद्युत आयोजना संचालित छन ।

जडिबुटीहरु थुप्रै मात्रामा पाइन्छ।जङ्गल पनि थुप्रै छ।सम्भावना अथाह छ तर त्यसको पहिचान र प्रयोग गर्न असक्षम छ यहाँको नेतृत्व ।

कसरी हुन्छ आफू बन्ने ,आफ्ना नातागोता लाई बनाउने अनि अकुत सम्पती कमाइ जनतालाई आफ्नै पन्जामा पारिराख्ने दलाल नेतृत्वको योजना रहेको हुन्छ, अनि कसरी नौमुले विकास र समृद्धिको शिखर स्पर्श गर्न सकोस् ? दक्ष कालीगडको अभावमा प्रताडित भएको छ नौमुले।

नौमुलेमा शिक्षाको गुणस्तर पनि खस्केको छ।यहाँ प्रत्येक वडाहरुमा माध्यमिक तहका विद्यालयहरु छन् ।तर शिक्षाप्रति कसैको चासो र ध्यान गएको देखिदैन।

विद्यालयहरु कमाई खाने भाडो जस्तै भएका छन ।गाउँका स्कुलहरुमा अध्ययनरत प्रायःजसो विद्यार्थीहरु कुलतमा फसेका भेट्न् पाइन्छ।

भोलिको रास्ट्र हाक्ने समाज बनाउने खम्बाहरुमा सानै देखि धमिरा लाग्न थाल्यो भने परिवर्तनको आस के गर्नु र?

शिक्षकहरू संग परिवर्तन गराउनुपर्यो भन्दा एक्लै सम्भावना छैन भन्ने ओठे जवाफ फर्काउछन।विद्यालय हाक्ने भनेको प्रअ ले हो प्रमुख नेतृत्व असल कुशल भयो भने परिवर्तन गराउन सम्भव छ।

जब नेतृत्वमा भएको ब्यक्तिले नमूना बनाउने सपना देख्दैन अनि कसरी बनाउन सकिन्छ नमुना ? सबभन्दा पहिला त उसले सपना देख्न जरुरी छ , त्यो सुतेको बेला देख्ने सपना होइन ।समाज परिवर्तनको बहाक भनेको शिक्षक हो यदि शिक्षक नै खराब र दुराचारी भैदियो भने सुदृढ समाजको निर्माण हुन सक्दैन ।

समग्र नौमुलेको विकास र समृद्धि को लागि सम्पुर्ण विद्यालयहरुलाइ नमुना बनाउन शैक्षिक हस्तिहरु जुरमुराउनु आवश्यक छ।शिक्षामा आमूल परिवर्तन गराउन सकियो भने पनि नौमुलेको विकासमा इट्टा थप्नेछ।

नौमुलेलाइ साच्चिकै नमुना गाउँपालिकाको रूपमा स्थापित गर्ने हो भने सम्पुर्ण राजनीतिक पार्टीका नेतृत्वकर्ताहरु एकचोटि ब्यक्तिगत ,पारिवारिक ,पार्टीगत सबै स्वार्थ बाट माथी उठेर नितान्त समाज विकासको पथमा केन्द्रित हुन जरुरी छ।

किशोर सुवेदी
प्रेस संगठन कर्णाली प्रदेश सदस्य,