बंगलादेश बाट १० गते गुडेका २ गाडी नेपालमा प्रवेश ,,,
वैशाख,१२, काँकडभिट्टा -बंगलादेश बाट १० गते नेपालको लागि प्रस्थान गरेका २ गाडी आज नेपाल प्रवेश गरेका छन् ,ढाकाको श्यामोली परिवहनका दुईवटा बस बुधबार नेपाल मा भित्रियका हुन् नेपाल, भारत, बंगलादेश र भुटानबीच चारदेशीय सीधा बस यातायात सेवा सञ्चालनका लागि बंगलादेशको राजधानी ढाकाबाट हिडेका बस काँकरभिट्टा हुँदै नेपाल आयका हुन् ।
ढाकाबाट वैशाख १० गते छुटेका ती बस बुधबार बिहान बंगलाबन्ध–फूलवारी मार्ग हुँदै भारतको सिलगढी आइपुगेका थिए । सिलगढीबाट भारतको पानीट्यांकी सीमा हुँदै बस आज नेपाल प्रवेश गरेका हुन् ।
मेचीनगरका नगरप्रमुख विमल आचार्य, मेची भन्सार कार्यालयका प्रमुख टेकबहादुर अर्याल, नेपाल बंगलादेश चेम्बर अफ कमर्सका अध्यक्ष पन्नालाल जैनलगायतले मेची पुलमै पुगेर बसमा आएका बंगलादेश र भारतका उच्च अधिकारीलाई स्वागत गरेका छन् ।
चार देशबीच सीधा यातायात सेवा सञ्चालन गर्ने सम्बन्धी ती देशबीच हालै सम्झौता भएपछि पहिलोपल्ट यसरी ढाकाबाट यात्रु बोकेर परीक्षण सेवाका लागि बस आएका हुन् ।
बसमा बंगलादेश रोड ट्रान्सपोर्ट कर्पोरेसनका अध्यक्ष फरिद अहमद भूइयनको नेतृत्वमा ८० जनाको टोली रहेको छ । टोलीमा नेपाली सदस्यको नेतृत्व भौतिक योजना तथा यातायात मन्त्रालयका वरिष्ठ डिभिजनल इञ्जिनियर गोविन्दप्रसाद खरेलले गरेका छन् ।
यसैगरी भारतीय टोलीको नेतृत्व भारतीय यातायात मन्त्रालयका उच्च अधिकारी अमित मञ्जलले गरेका छन् । ढाकाबाट बस चढेर आएका सम्पूर्ण पाहुनालाई काँकडभिट्टास्थित मेची भन्सार कार्यालयको हलमा स्वागत गरिएको थियो ।
काँकडभिट्टामा केहीबेर अध्यागमनसम्बन्धी प्रक्रिया पूरा गरी टोली ती बससँगै काठमाडौँतर्फ प्रस्थान गरेको छ । बुधबार साँझ चितवनको सौराहामा टोलीले बास बस्ने र त्यहाँ नेपाल सरकारको तर्फबाट विशेष कार्यक्रमको आयोजना गरिने बताइएको छ ।