विपदग्रस्त क्षेत्रमा गरिने राहत र पुनस्थापनाबारे सभामुखको चासो

साउन ,६ काठमान्डौ – सभामुख अग्निप्रसाद सापकोटाले राट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलसँग भोटेकोशी बाढी, पहिरो र लगातारको बर्षाले निम्त्याएको विपत्ति, सो क्षेत्रका सम्भावित जोखिम र प्राधिकरणले व्यवस्थापनका लागि गरिरहेको कार्यबारे जानकारी लिनुभएको छ ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा आज भएको छलफलमा कार्यकारी प्रमुख पोखरेलले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले २०७२ सालको भूकम्पबाट धेरै क्षति भएका १४ जिल्लामा गरेको पहिरो सम्बन्धि तथ्यांकका आधारमा सिन्धुपाल्चोक पहिरोका दृष्टिकोणले सबैभन्दा जोखिममा रहेको जानकारी दिनुभयो ।

पोखरेलले सिन्धुपाल्चोक जिल्लाभित्र पनि भोटेकोशी गाउँपालिका पहिरोका कारण उच्च जोखिममा रहेकोले सतर्कता अपनाउनुपर्ने अबस्था रहेको बताउनुभयो ।

प्रमुख पोखरेलले जोखिमयुक्त गाउँ, बस्ती र घरधुरीलाई त्यहाँको जोखिमबारे स्थानीय सरकार मार्फत जानकारी दिने तयारी भइरहेको बताउनुभयो ।

भेटमा सभामुख सापकोटाले विपद् भएलगत्तै गरिने राहत, उद्दार र पुनस्थापनाको तयारीबारे पनि चासो राख्नुभएको थियो ।

जवाफमा प्रमुख पोखरेलले आगामी बिहीबार बस्ने कार्यकारी समितिको बैठकले यससम्बन्धि निर्णय गर्ने जानकारी दिनुभयो ।

उहाँले तिब्बतर्को केरुङ च्छो तालमा पानीको मात्रा घटेको सूचना आएकोले तत्कालका लागि फुट्ने खतरा टरेको बताउनुभयो ।

प्राधिकरणले तालमा पानीको मात्रा, ताल फुटेमा त्यो पानी नेपाली भूभागसम्म आइपुग्न लाग्ने समय र सम्भावित क्षतिबारे पनि अध्ययन गरिरहेको पोखरेलको भनाई छ ।

छलफलमा तीन दिनसम्म रुपमा बाह्रबिसे र भोटेकोशीको स्थलगत अवलोकन र राहत उद्दारमा सहभागी भएर फर्कनुभएका नेकपा केन्द्रीय सदस्य एवं सिन्धुपाल्चोक सहइन्चार्ज माधव सापकोटा सुबोध, नेकपा नेता सरल सहयात्री र भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले भोटेकोशी गाउँपालिका र बाह्रविसे नगरपालिका भित्र बाढी पहिरोले गरेको क्षति र प्रभावित स्थानीयले भोग्नुपरेको अप्ठेरोबारे जानकारी गराउनुभएको थियो ।