जाजरकोटमा विषालु च्याउले लग्यो ४ जनाको ज्यान ,

साउन १३ ,जाजरकोट – विषालु च्याउ खाँदा जाजरकोटमा एकै घरका चारजनाको मृत्यु भएको छ ।

कुशे गाउँपालिका १ स्याँक्रीकी एकै घरका थप तीनजना बालबालिकाको सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा उपचारको क्रममा मंगलबार मृत्यु भएको हो ।तीन वर्षीया अञ्जना चलाउनेको सोमबार गाउँमै मृत्यु भएको थियो ।

सँगै च्याउ खाएका ५० वर्षीय टेकबहादुर चलाउने, ३० वर्षीय ललित चलाउने, ३० वर्षीया कल्पना चलाउने, १४ वर्षीय पशुपति चलाउने, नौ वर्षीया निरुता सिंह, १२ वर्षीया धन्सरा चलाउने र १४ वर्षीया औसरा चलाउने गम्भीर बिरामी भएको कुशे गाउँपालिका १ का वडाध्यक्ष गोपाल नेपालीले बताएका थिए।

बिरामीमध्ये टेकबहादुरकी १६ वर्षीया छोरी औसरा, १३ वर्षीया छोरी धनसरा र ११ वर्षीया नातिनी निरुताको उपचारको क्रममा मृत्यु भएको प्रदेश अस्पतालका मेडिकल विभाग प्रमुख डाक्टर केएन पौडेलले जानकारी दिए ।

बिरामीमध्ये एकजनाको अवस्था अझै गम्भीर रहेको र तीन जनाको अवस्था सामान्य रहेको डा. पौडेलले बताए ।

बिरामीलाई गाउँपालिकाले नेपाली सेनाको हेलिकोप्टर चार्टर गरी उपचारका लागि सोमबार नै सुर्खेत पुर्‍याएको थियो ।