नेकपा सचिवालयमा केन्द्रीय सदस्यलाई नियमित ‘पैसा’ दिने प्रस्ताव,

असोज ४ ,काठमान्डौ – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकमा केन्द्रीय सदस्यलाई पैसा दिनुपर्ने प्रताव पेश भएको छ। आजदेखि पेरिसडाँडामा बसेको बैठकमा यस्तो प्रस्ताव पेश भएको हो।

केन्द्रीय सदस्यलाई कम्युनिस्ट पार्टीको सिद्धान्त अनुसार पैसा दिने सम्बन्धी प्रस्ताव पेश भएको नेकपा प्रवत्ता नारायणकाजी श्रेष्ठले बताए।

पार्टीमा रहेका पूर्णकालीन कार्यकर्तालाई प्रदेश, जिल्ला वा सोभन्दा तलका कमिटीले आफैं निर्णय गर्ने भए पनि केन्द्रीय सदस्यलाई कसरी आर्थिक सहयोग गर्ने भन्ने विषयमा सचिवालयमा छलफल हुने श्रेष्ठले बताए।

तेस्तै ‘स्थायी कमिटी बैठकको निर्णयअनुसार मन्त्रिपरिषद् पुनर्गठन गर्ने तय भएको छ । सचिवालयमा पुनर्गठनको मापदण्डका सम्बन्धमा विभिन्न कोणबाट नीतिगतरुपमा सुझाव दिइएको छ ।

नीतिगत छलफल भए पनि व्यक्तिको नाम भने टुंगो नलागेको आवश्यक परे प्रधानमन्त्रीसँग पछि नै छलफल हुनसक्ने प्रवक्ता श्रेष्ठले बताए। सचिवालयका एक सदस्यका अनुसार बैठकमा मन्त्रिपरिषद् पुनर्गठनबारे तीन विकल्पमा छलफल भएको छ ।मन्त्रिपरिषद् पुनर्गठनबारे दुई–तीनवटा विकल्पमा छलफल भएको छ ।

सबै हटाउने सबै राख्ने एउटा विकल्प आएको छ । सबै नहटाउने तर दुई वर्ष पुगेकालाई हटाउने, पछि गएकालाई नहटाउने र अरु नयाँ राख्ने दोस्रो विकल्प ।

तेस्रो, त्यो नगरेर पुराना केही राम्रो काम गरेकालाई राख्ने र बाँकी थप्ने विकल्प माथि छलफल भएको सचिवालयका एक सदस्यले बताए ।त्यसैगरी बैठकमा पार्टीको सांगठनिक एकीकरणको विषयमासमेत छलफल भएको छ।

संगठन विभाग, स्थायी समिति र केन्द्रीय समितिको पदपूर्ति र केही कारबाहीका विषयमा छलफल भएको प्रवक्ता श्रेष्ठले बताए। सँगै बैठकमा संवैधानिक नियुक्तिको विषयमासमेत छलफल भएको छ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहालले सबै मन्त्रीलाई हटाएर नयाँ शिराबाट अगाडि बढ्न ठीक हुने बताएका थिए । ‘दाहालका अनुसार सबैलाई राजीनामा दिन लगाउने पहिलाकै सिनियर, क्षमतावानलाई राख्ने र बाँकी नयाँलाई पठाउने ठीक हुन सक्छ ।

त्यसो गर्दा पुरै पुरानालाई हटाएर नयाँ राख्ने भन्ने पनि भएन । मन्त्रिपरिषद् भनेजस्तो गरी पुनर्गठन पनि हुन्छ । नयाँमा पनि सिनियर, क्षमतावान र योग्यहरुलाई बनाउँ । त्यसले सरकारको काम पनि प्रभावकारी हुन्छ,’ दाहालको भनाइ उद्धृत गर्दै ती सदस्यले भने ।

नेकपाको अर्को बैठक सोमबार दिउँसो १ बजे बस्ने गरी स्थगित भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए। भोलिको बैठकमा थप एजेन्डामाथि छलफल हुनेछ।