मोदी अभिनन्दनको लागि सभागृहको सजावट पनि सकियो ,,

वैशाख २८ काठमाडौँ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नगरवासीका तर्फबाट अभिनन्दन गरिने स्थल राष्ट्रिय सभागृह चिटिक्क पारेर सिङ्गारिएको छ। सधैँ सार्वजनिक यातायातका साधन खचाखच रहने प्रदर्शनी मार्गमा अहिले अत्यन्तै कम संख्यामा सवारीसाधन चलेका छन्। सभागृहको प्रवेशद्वारमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको फोटो राखिएको छ।

सभागृहमा पनि रंग लगाइएको छ भने फूलको साजसज्जा त्यत्तिकै आकर्षक छ। यी सबै दृश्य हेर्दा लाग्छ यो हिजोको सभागृह होइन। त्यसैगरी, स्वागतद्वारको दायाँबायाँ प्रशस्तै संख्यामा नेपाल र भारतका झण्डा टाँगिएको छ।

सभागृह मात्र होइन मोदीको स्वागतका लागि उहाँ नेपाल रहँदाको समयमा आउने र जाने सबै स्थान सफा र व्यवस्थित नै रहेको छ। सडकको छेउछाउमा रंग लगाउने, झण्डा राख्ने, स्वागतद्वार निर्माण गर्ने काम पनि सँगै सकिएको छ। विमानस्थल, गौशाला, त्रिपुरेश्वर, जमल, नयाँ बानेश्वर, कोटेश्वर, हायात होटलको आसपासलगायत प्रधानमन्त्रीले आवत जावत गर्ने स्थानमा साजसज्जाको काम पनि सकिएको छ।

दुईदिने राजकीय भ्रमणका लागि प्रधानमन्त्री आज नेपाल आउन लाग्नुभएको छ। कामपाका सूचना अधिकारी वसन्त आचार्यका अनुसार प्रधानमन्त्री मोदीको स्वागतका लागि कामपाका तर्फबाट कुनै कसर बाँकी राखिएको छैन।

अभिनन्दनको सबै तयारी सकियो ,,

प्रधानमन्त्री नरेन्द्र मोदीका लागि नागरिक अभिनन्दन गर्नका लागि सबै तयारी पूरा भएको कामपाले जानकारी दिएको छ। भ्रमणका लागि आज नेपाल आउन लागेका प्रधानमन्त्री पहिलो दिन प्रदेश नं २ को जनकपुर र काठमाडौँ तथा दोस्रो दिन मुक्तिनाथको दर्शन तथा जोमसोमको भ्रमणमा रहनेछन्।त्यसपछि काठमाडौँ फर्केपछि उनी भारतीय राजदूतले आयोजना गर्ने दिवा भोजमा सहभागी भई अपराह्न कामपाले आयोजना गर्ने नागरिक अभिनन्दनमा सहभागी हुने कार्यतालिका रहेको छ।

आचार्यले भने, ‘सबै तयारी पूरा भएको छ, प्रधानमन्त्रीको स्वागतका लागि हामी आतुर छौँ।’ प्रधानमन्त्री २:४५ बजे सभागृहमा पुग्ने भएपनि कामपाले अन्य अतिथि तथा पाहुनालाई दुई बजेभित्रै हलमा राखिसक्ने समयतालिका रहेको छ। ५३२ सिट क्षमता भएको सभागृहको हलमा ५५० जनासम्म हुनसक्ने कामपाले जानकारी दिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा भारतीय प्रधानमन्त्री दुईदिने राजकीय भ्रमणमा नेपाल आउन लागेका हुन्।रासस

उक्त कार्यक्रममा प्रदेश ३ का मुख्यमन्त्री, सांसद्, कामपाका जनप्रतिनिधि, कामपाका उच्च पदका कर्मचारी र कूटनीतिक नियोगका प्रमुखको सहभागिता हुनेछ। कामपाका प्रमुख शाक्यले नागरिकका तर्फबाट नागरिक अभिनन्दन र महानगरका तर्फबाट कलात्मक साँचो हस्तान्तरणसँगै उपहार दिने तयारी रहेको बताए। उपहार के दिने भन्ने बारे अहिलेसम्म टुङ्गो लागेको छैन। साँचो हस्तान्तरणको अर्थ ‘विशिष्ट अतिथिका लागि महानगर खुल्ला छ’ भन्ने हो। शर्मिला पाठक /रासस