आमा बुबा,
कविता,,

आमा :____
पृथ्वीको यो गोलार्द्धमा म छु
मरुभूमिको त्यो उजाड ठाउँ तिमी छौ
घाम एउटै, बिहान एउटै
दिन उस्तै, रात उस्तै छ ।
जब सम्झना आउछ छाती भित्र,
उकुस मुकुस भावना
तब सम्झन्छु तिमिलाई।
बुबा :____
म सदैव ओझेल परे
बारीको डीलमा चुपचाप
ठिंग उभिएको बूढो रुख झैं कहिल्यै उभिएन ।
भन्ज्यांगको चौतारी झैं ढस-मस्स बसेन
म त तिमी र मेरो भविस्यको अध्यारो मेटाउन
मैन झै जलिरहे हाम्रो खुसी समेट्न
रेल झैं चलिरहे, जिन्दगी भर कुदिरहे
थाकेर एक छिन सुई नगरी सधै एक्लै कुदिरहे,
उजाड यो मरुभूमिमा ।
आमा :___
यो अदभुत संसारमा ।
तिमि जस्तो मेरो अरु कोही छैनन्
प्यारा तिमिले मलाई साथ दियौ
संघर्षका पाईलामा हात दियौ
आफूलाई दुखी बनाई
परिवारलाई खुसी बनायौ
मलाई साथ दिने तिमी
मैले पाएको यो जिन्दगी
मेरा रहर संग धर्ति र आकाश भएको बेला
तिम्रो आफ्ना उत्साहले भरिएको
हाँसोले हाँस्न सिकाउँछ
बाँच्ने उत्साह थपि दिन्छ ।।
बुबा :____
अगितिर थिचिएको त्रासले जिन्दगी निरास छ ।
घुरिरहुन्छ घ्वार घ्वार कुम्भकर्णको निद्रामा
अन्योल जिन्दगी कर-कलाको पातमा टिलपिल पानी झैं
आँसु टिलपिलाएका आँखामा निद्रा हराएपछि
खुसीहरुको सिला खोज्दैछु।
परेलीका डीलहरुमा बोल्दा बोल्दै भासिन्छु ।
एकाएक स्वर, बोली बन्द हुन्छ,
थाहा पाउछु म गला अबरुद्ध भएको
यी सबै पीडा दबाएर परिवारको खुसी समेट्न मुस्कुराएको अभिनय गर्दछु ।

आमा :____
तिम्रो एक चिम्टी सिन्दुरको नाता र
मेरो भावनाको नाता यति गाढा छ
श्रीमान श्रीमती रथका दुई पांग्रा लाग्छ ।
श्रीमान पुकार्नुको आनानुभूति
श्रीमानको माया पाउनु अनुभूतिले
मन त्यसै त्यसै चकित हुन्छ।

तिम्रो सम्झनामै गर्वले छाती फुल्छ
त्यसैले त श्रीमानको महत्व र आवस्यक ख़ास ।
आमाबुबाले दिएको माया र ममतालाइ नबुझेको भए
म यो माया बुझ्ने थिएन होला
आमाबुबा तपाईंहरु भएर नै म भएँ
मेरो शरीर आमाको रगतले बनेको छ
प्रत्येक धडकनमा आमाबुबाको माया
प्रत्येक स्वरमा आमाकै आवाज
प्रत्येक हेराइमा आमाकै दृष्टि
हरेक पाइलामा आमाकै शक्ति
हरेक कार्यमा आमाकै योगदान
सागरझैँ गहिरो आमाको माया
अविरल महसुस गरिराखु
आमाबुबाको माया, त्यो छहारीको आशीर्वादको फल र प्यारा तिम्रो काख स्वर्ग महसूस गरिराखु ।।
बुबा :_____
म चिन्छु, त्यो नक्कली मुस्कान
जो तिम्रो होइन,
अ ह।
हुदै होइन।
फुंगरंग उडेर उदासीएका फूलहरु फुलेका छन ,
मुहार चाउरिएर ग्राफ जस्ता गालाका रेखाहरुमा
कतै एक धर्को सन्तोष छै।
जिम्मेवारीको चर्को घामले उदाए देखि अस्ताउदा सम्म
ठुंगिरहन्छेउ ।।
भित्र मनमा कता कता बिगत र आगतको
उही चिन्ताको पहाड उभिएको छ
त्यही पहाडमा उभिएर संसार जितेको नाटक गर्छु ।
अनि बाँड्छु परिवारलाई पैंचो मागेका उधारा खुसीहरु,
तर यथार्थमा पटक पटक हारिरहन्छु।
परिवारका लागि र तिम्रो लागि म त त्यो हरुवा हु
जो सँधै हारिरहन्छु
केवल आफ्नो परिवार र सन्तानका लागि ।।
राज अवस्थी
महेन्द्रनगर, कंचनपुर
