आमा मलाई नजन्माऊ है ,

(भ्रूणको चित्कार)
आमा।
तिमी नछुनी* भएको पनि
४ महिना पुग्न लाग्यो । आमा
तिमी खुशी छौ बेस्सरी
तिम्रा खुशीहरु
तिम्रा चाहनाहरु
तिम्रा अनुहारहरु
म देख्न त सक्दिन आमा
तर मैले महशुस गरि रहेछु
तिमी कति धेरै खुशी छौ आमा
तिमी भित्रबाटै
मैले नियाली रहेछु/पढिरहेछु
तिमीलाई आमा ।
बाबाले ममता व्यक्त गर्दै
गर्भमा कुनै असर नपरोस भनि
तिम्रो हातमा डायनटिक्स* थमाएर
पढ्न सुझाउँदा
विस्तारै तिम्रो पेटमा स्पर्श गरि
तिमीलाई माया गर्दै जिस्किदा
साच्चिकै तिम्रा खुशीहरु
तिम्रा अधरबाट छचल्किएर
तिम्रो मुस्कान
जब हाँसोमा परिवर्तन हुन्छ
म पनि हाँसिरहेकी हुन्छु आमा !
हो तिमीले फेर्ने हरेक श्वासमा
मैले आनन्द लिई रहेकि हुन्छु
बाबाले तिमीलाई अगालोमा वाँधी
तिम्रो कपाल सुम्सुम्याउँदा
म मस्त निदाउँछु आमा।
मानौ कहिल्यै उठ्नु नपरोस
ता कि! बाबाले तिमीलाई
सुम्सुम्याई रहुन् ।
आमा।।
तिमी डा. को मा गयौ त?
किन मान्दिनौ तिमी।
अब तिमीले ढिला गर्नु हुदैन
म तिमीलाई बुझ्न सक्छु
महशुस गर्न सक्छु आमा।
मैले धेरै पटक चिच्याउँदै भने
तिम्रो गर्भमा हुर्केकी म ‘छोरी’ हुँ ‘छोरी’।
तिम्रो समाजले चाहेको
छोरा होइन आमा… छोरा ।
तर तिमी मलाई सुन्न सक्दिनौ आमा
तिमी मलाई बुझ्न सक्दिनौ
त्यसैले आमा।
बा’लाई लिएर
डा. को मा जाऊ
तिमी क्लियर हुनु पर्छ आमा
तिमीले बुझ्नु पर्छ अब ।
अस्ति बाले के खबर सुनाउनु भयो कुन्नी।
तिमीले बेसरी पीडा बोध गर्यौ
रात भरी निदाइनौ तिमी
म पनि निधाउन सकिन आमा।
त्यस दिनको तिम्रो हरेक श्वासप्रश्वासले
मलाई घोची रह्यो, घोची रह्यो
घोची मात्र रह्यो ।
आमा।।
म तिम्रो पीडा देख्न सक्दिन
बाबा! भाब विव्हल भएको हेर्न सक्दिन
त्यसैले
म जन्मिन चाहन्न आमा।
मलाई ‘नजन्माऊ’
अब ढिला नगर
आमा।।
यतिबेला तिमीले दिएको सुरक्षा
जन्मे पछि दिन कहाँ सक्छ्यौ ।
आमा।।
बाले तिम्रो कोखको सुरक्षा गरेका छन र पो।
तिम्रो कोख सुरक्षित छ
तर तिमीले टेकेको धर्ती सुरक्षित छैन आमा
धर्तिको सुरक्षाको जिम्मा
अरु कसैले लिएको छ
र ऊ मस्त निन्द्रामा छ ।
त्यसैले,
म बलात्कृत हुन चाहन्न आमा।
म कसैको खेलौना बन्न चाहन्न
जन्मे पछि
अकालमा मर्न चाहन्न आम।
भनीदेऊ न आमा! बा’लाई यी सब कुरा
बा’लाई सम्झाऊ तिमीले
र एउटा कठोर निर्णय लेऊ आमा
मलाई ‘नजन्माउने निर्णय’
अब ढिला गर्नु हुदैन आमा तिमीले ।
हो आमा।।
तिमीले कोख बाँझै राख्दा
तिमीलाई समाजले हेप्नेछ
आरोप लगाउनेछ
तिमीलाई ‘अपूती’ अनि, बा’लाई ‘अपूतो’ भन्दै…
तर तिमीलाई त थाह छ न। आमा
तिम्रो कोख बाँझो होइन भनेर ।
फेरि पनि सम्हाल आँफूलाई
रहरकी एउटा छोरी जन्माउनु भन्दा
जन्मी सकेका लाखौं छोरीको
सुरक्षाको निम्ति लड आमा
एक दिन अवस्य जित्नेछौ
र “महान आमा” बन्ने छौ ।
जुन दिन तिमीले टेकेको धर्तीमा
तिम्रो कोखको जस्तै
सुरक्षा महशुस गर्ने छौ
र हरेक छोरीहरु
सुरक्षित हुनेछन ।
जुन दिन बच्चा नजन्माई तिमी
“महान आमा” बन्ने छौ
त्यसै दिन पुन: गर्भाधान गर्नु
छोरी जन्माउनको लागि
म त्यति बेला जन्मिने छु आमा
तिम्री छोरी भएर
तिमी ढुक्क होऊ ।
त्यसैले आमा।।
बालाई लिएर डा. को मा जानुपर्छ तिमी
जान्छ्यौ नि आमा !
अब ढिला गर्नु हुदैन आमा तिमीले
तिमीलाई नि थाहा छ त !
तिमी नछुनी भएको पनि
४ महिना पुग्न लाग्यो त! आमा !

– खेम आचार्य
काठमाडौ
२०७५/०५/१८
================================
*डायनटिक्स(Dianetics): The Modern Science of Mental Health – L. Ron Hubbard
* नछुनी हुनु (घर गाउँको भाषा)= रजस्वला हुनु/ महिनाबारी हुनु/पर सर्नु /पन्छिनु …।
