५ वटा नक्कली नागरिकता जंगबहादुर राणा पक्राउ ,

असोज २७ ,काठमान्डौ – ललितपुर महानगरपालिका,१३ कुसुन्तीका ३३ वर्षीय केवलप्रताप जंगबहादुर राणा पक्राउ परेका छन्।

पर्साकी कमलादेवी राजभण्डारीका नाममा रहेको जग्गा ५० करोड बराबरको जग्ग नक्कली कागजात र नक्कली छोरा बनेर ठगि गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो।

राणाले आफू जग्गाधनी कमलादेवीको छोरा भन्दै ललितपुर जिल्ला प्रशासन कार्यालयबाट नक्कली नागरिकता बनाएको अनुसन्धानका क्रममा खुलेको ब्युरोका प्रमुख डीआईजी सहकुलबहादुर थापाले बताए ।

जिल्ला प्रशासन कार्यालय ललितपुरबाट मुकेश राजभण्डारीकै नाममा उनको ४७४३ नम्बरको नक्कली नागरिकता समेत रहेको डिआईजी थापाले बताए।

त्यति मात्र होइन, आफू मुकेश राजभण्डारी भएर राजेश राजभण्डारी, रुपेश राजभण्डारी र कमला राजभण्डारीका नामको नक्कली नागरिकतासमेत उनीसँग फेला परेको छ।

राजेशले ब्युरोमा जग्गा किर्ते भएको जाहेरी दिएका थिए। राणाले कमला राजभण्डारी र कमलादेवी राजभण्डारी एकै भएको किर्ते कागजसमेत बनाएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

उनले ठग्नको लागि धेरैकागाज समेत किर्ते गरेको अनुसन्धानमा खुलेको थापाले बताए । थापाका अनुसार ललितपुर महानगरपालिका वडा नम्बर ३ बाट जग्गाधनी कमलादेवी राजभण्डारी र उनका पति गोपाल राजभण्डारीको मृत्युदर्ताको प्रमाणपत्रसमेत किर्ते गरेका रहेछन्।

अग्रवाल घरजग्गा हेर्न पुग्दा स्थानीयले जग्गाधनी अरू नै रहेको बताएपछि मात्रै ठगीको रहस्य खुलेको थियो।

राणाले वीरगन्ज महानगरपालिका,५ मा रहेको चार कित्ता क्रमशः ३, ७१, १४३ र १८६ मा बनेको घरसमेतको जग्गा ठगी गरेको अनुसन्धानका क्रममा खुलेको ब्युरोले जनाएको छ।

उनले मालपोतका कर्मचारीसँगको मिलेमतोमा जग्गा आफ्नो नाममा ल्याएर वीरगन्जकै गिरिधारी लाल अग्रवालबाट राणाले ५० लाख रुपैयाँ बैना लिएको समेत खुलेको हो । राणाले अग्रवाललाई ठग्न आफूलाई मुकेशराज भण्डारी भनेर चिनाएको पाइएको बताए।

राणाले मुकेश राजभण्डारीका नाममा जग्गा नामसारी गर्न अस्ट्रेलियास्थित नेपाली राजदूतावासबाट राजेश र रुपेशले दिएको मञ्जुरीनामासमेत किर्ते गरेको पाइएको छ।

डीआईजी थापाले मुकेशका नाममा जग्गा आएपछि राणाले कम्पनी रजिस्ट्रार कार्यालयमा गंगा ट्रेडर्स नामक कम्पनीसमेत दर्ता गरेको पाइएको बताए।

उनका अनुसार त्यही कम्पनीका नाममा राणाले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट कर्जा निकाल्दै आएको पाइएको छ।

राणालाई २०७० कार्तिक ३ गतेपनि क्रेडिक कार्ड ठगी घटनामा जिल्ला प्रहरी कार्यालय ललितपुरमा अथगी मुद्दा चलेको थियो भने पहिलेनै विभिन्न अपराधमा मुछिएको केन्द्रिय अनुसन्धान ब्युरोले जनाएको छ।