गुप्तचर अधिकारीसँग प्रधानमन्त्रीको एकल भेट आचारसंहिताविपरीत, श्रेष्ठ,

कार्तिक ९ ,काठमान्डौ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले भारतीय गुप्चर संस्था ‘रअ’ सामन्त गोयलसँग पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको भेटलाई कूटनीतिक मुल्य र आचारसंहिता विपरीत भएको बताएका छन् ।

प्रवक्ता श्रेष्ठले सामाजिक संजालमा प्रश्न गरेका छन् ‘कूटनीतिक मुल्य र आचारसँहिता विपरीतको विदेशी गुप्तचर अधिकारीसँग प्रमको भेट किन ?

यसप्रकारको कार्यबाट राष्ट्रिय स्वाभिमान, प्रतिष्ठा र कूटनीतिक ओझ गिर्ने मात्र होइन ,अन्ततः राष्ट्रिय सार्वभौमिकता र राष्ट्रिय हितलाई कमजोर पार्ने काम हुन सक्दछ ।

यो बारे पार्टीलाई कुनै पुर्व जानाकारी नभएको र पार्टीमा यसबारेमा कुनै सँस्थागत एवं औपचारिक छलफल नभएको पनि पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका श्रेठले बताएका छन् ।

उनले देशको प्रधानमन्त्रीले बिना कुनै निर्धारित कार्यसूची विदेशी गुप्तचर संस्थाको अधिकारीसँग कुटनीतिक मर्यादाविपरीत समकक्षीझैँ औपचारिक वार्ता गरेको नेपालको राजनीतिक एवम् कूटनीतिक ईतिहासमा यस प्रकृतिको यो पहिलो घटना भएको बताएका छन् ।

नेपालको राष्ट्रिय अनुसन्धान विभागको प्रमुखले आफ्नो समकक्षीलाई निश्चित बिषयमा छलफल गर्न भ्रमणको लागि निमन्त्रणा गरेको हो भने कूटनीतिक मर्यादा अनुरुप शिष्टाचार भेट हुन सक्दथ्यो ।

त्यो होइन भन्ने स्पष्ट भइसकेको छ,’ उनले लेखेका छन्, ‘विदेशी सरकार प्रमुखले औपचारिक रुपमा आफ्नो विशेष दूतका रुपमा अख्तियार प्रदान गरी पठाएको हो भने पनि सन्देश सुन्ने र प्रत्युत्तर सन्देश पठाउने गरी कुरा हुन सक्दथ्यो । तर त्यस्तो पनि देखिएन । त्यसैले गम्भीर प्रश्न उठ्छ ।

रअ का प्रमुख गोयल कात्तिक ५ गते विशेष विमानबाट नेपाल आएका थिए सोहि राति प्रधानमन्त्री निवासमा गएर प्रधानमन्त्री अ‍ोलीसँग ३ घण्टा लामो छलफल गरेका थिए ।

गोयल र प्रधानमन्त्री अ‍ोलीबीचको भेट विशेषतः देशको समसामयीक राजनीतिक घटनाक्रममा केन्द्रीत रहेको उनको सचिवालयले जानकारी दिएको छ ।नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डबीच पार्टी विवाद उत्कर्षमा पुगेको छ ।

यो विवादलाई भारत र चीनले नजिकबाट नियाली रहेको छ । रअ प्रमुख गोयलले नेकपाका अन्य नेताहरुलाई भने भेटेका छैनन् । भारतका सेना प्रमुख पनि नेपाल भ्रमणमा आउन लागेका छन् । कतिपयले त्यसको तयारीमा आएको दाबी गरिरहेका छन् ।