आज दसैंको मुख्य दिन विजयादशमी, टीकाको उत्तम साइत १०:१९ बजे,

कार्तिक १० ,काठमान्डौ – नेपालीहरुको महान चाड विजयादशमीको आज मुख्य दिन, मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका र समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ ।

शुभ साइतको प्रतीक परेर आज रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाउने गरिन्छ। नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज देवी विसर्जनको साइत बिहान १०:११ बजे रहेको जनाएको छ ।

टीकाप्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि भने १०:१९ बजे उत्तम रहेको समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले जानकारी दिए । विजय दशैँ आफैमा शुभदिन भएको हुँदा आजकोदिनमा साईत खोज्नुनपर्नेपनि बताइनछ।

घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट जल अभिषेक गरी विजयादशमीको टीका लगाउने गरिन्छ । कतिपय जिल्लामा आज एक दिनमात्रै र कतिपय जिल्लामा आजदेखि कोजाग्रत पूर्णिमासम्म टीका थप्ने चलन छ।रासस ,

‘राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्छ, राज्य सञ्चालकले शुभसाइतमा टीका लगाउँदा प्रभु, मन्त्र र उत्साहशक्ति प्राप्त हुने शास्त्रीय वचन रहेकाले साइत दिइएको हो, साइतमै टीका लगाउँदा देवीको शक्ति प्राप्त हुने गौतमले बताए।

आज विजयादशमीका दिन चन्द्रमा कुम्भ राशिमा रहेकाले टीका लगाइमाग्ने मानिस पश्चिम फर्कनुपर्छ । टीका लगाइदिनेले भने पूर्व फर्केर बस्नुपर्ने शास्त्रीय मान्यता छ ।

चन्द्रमालाई दाहिने र सम्मुख पार्दा शुभ हुने भएकाले यसो गर्नुपर्ने अध्यक्ष गौतमले सुनाए ।असत्यमाथि सत्य र आसुरीशक्तिमाथि दैवीशक्तिको विजयको प्रतीकका रुपमा मनाइने विजयादशमी बडादसैंकै सबैभन्दा महत्वपूर्ण दिन हो ।

सत्ययुगमा देवीले महिषासुर र त्रेता युगमा रामले असत्यको प्रतीक रावणमाथि आजकै दिन विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन शुरु गरिएको धार्मिक विश्वास छ ।

कोरोना संक्रमणको जोखिम रहेकाले टीका लगाइदिने र टीका थाप्ने व्यक्ति दुवैले मास्क लगाउनु पर्ने जनस्वास्थ्यविदहरुले सुझाव दिएका छन् । साथै आ–आफ्नो घरमै बसेर दसैं मनाउन पनि उनीहरुले आग्रह गरेका छन् ।

आजकै दिन मौर्यसम्राट् अशोकले शस्त्रास्त्र परित्याग गरेकाले बौद्धहरु शस्त्रपरित्याग दिवस मनाउँछन् ।गुरु पुरोहित, हजुरबा, हजुरआमा, बा, आमा, मान्यजन तथा ठूलाबडाका हातबाट नवदुर्गाभवानीको टीका, जमरा तथा प्रसाद थापी यश, ऐश्वर्य वृद्धि, काम गर्ने क्षमतामा वृद्धि एवं दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिइन्छ ।