निजी सुरक्षाकर्मीलाई कोरोना भाइरस लागेपछि म्याराडोना अस्पताल भर्ना

कार्तिक १९ – डिएगो म्याराडोना अस्पताल भर्ना भएका छन् । राजधानी ब्युनेस आयर्सस्थित ला प्लाटाको इपेन्सा क्लिनिकमा उनी सोमबार भर्ना भएको म्याराडोना आबद्ध क्लब जिमानिसया इस्ग्रामाले जनाएको छ । निजी सुरक्षाकर्मीलाई कोरोना भाइरस लागेपछि म्याराडोना सेल्फ आइसोलेसनमा छन् ।

स्पेन्सा क्लिनिकका डा। लियोपार्दो लुक्वीले सामान्य चेकअप गर्न म्याराडोना आएको बताएका छन् । यद्यपि उनलाई कोरोना संक्रमण देखिएको छैन । डा।लियोपार्दोले म्याराडोनाको स्वास्थ्य स्थिर रहे पनि तीन दिन ‘अब्जर्भेसन’मा राखिने बताएका छन् । ‘अहिलेको अवस्था राम्रो छ, तर उनको तीन दिन हेरविचार गर्नुपर्छ,’ उनले भने, ‘सुरुवाती उपचारमा म्याराडोना मानसिक रूपमै ठीक नभएको हामीले पायौँ, साथै शारीरिक रूपले पनि कमजोर देखिन्छ ।’

अहिलेकै अवस्था रहे म्याराडोना डिप्रेसनमा जान सक्ने डा।लियोपार्दोको भनाइ छ । ‘म्याराडोनाको स्वास्थ्य अवस्था राम्रो भए पनि केही भन्न सकिन्न, कुनै पक्षले उनलाई सताइरहेको छ, यस्तै भए डिप्रेसनमा जान सक्छन्, यसकारण हामी सबैले उनलाई सहयोग गर्नुपर्छ, म्याराडोनालाई तत्काल सहयोगको खाँचो छ,’ लियोपार्दोले भने । स्वास्थ्यमा उतारचढाव भइरहने भएकाले म्याराडोनाको उपचार गर्ने क्रममा पटकपटक समस्या आउने गरेको उनले बताए ।