गरिबीको दर्दनाक पिडा,दशैं सकिएलगत्तै भारत जानेको लर्को

काठमाडौं,१९ कार्तिक- कोरोनाले भएको सामान्य रोजगारी पनि गुमेपछि छाक टार्न मुस्किल भएको भन्दै अहिले फेरि रोजगारीका लागि भारत जानेको लर्को छ । कोरोना त्रासकै बीच त्रिनगर नाकाबाट मात्रै दैनिक आठ सयको हाराहारीमा नेपाली भारततर्फ गइरहेका छन् । कैलालीको गौरीफन्टा, कञ्चनपुरको गड्डाचौकी, दार्चुला र बैतडीका सीमानाकाबाट दैनिक हजारौंको संख्यामा नेपालीहरू भारत प्रवेश गर्ने गरेका छन् ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार कात्तिक १ देखि १६ गतेसम्म १२ हजार ७ सय ६३ नेपाली भारत प्रवेश गरेका छन्, जसमा २४ सय ५० महिला र १४ सय ५ बालबालिका छन् । सुदूर र कर्णालीका विपन्न नागरिक परिवारसहित भारत पस्ने गरेका छन् । पछिल्लो १६ दिनकै अवधिमा ८ हजार ११४ जना भारतबाट स्वदेश फर्किएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी मुकेश सिंहले जनाएका छन् ।
सरकारले गाउँमा रोजगारी सिर्जना गर्न नसक्दा ज्यान जोखिममा राखेर उनीहरू भारत पस्न बाध्य छन् । कैलालीको गौरीफन्टा नाकाबाट भारत जानेको संख्या अधिक छ । भारत पसेका नेपालीहरू सिमला, बैंग्लोर, नयाँ दिल्ली, मुम्बइलगायत शहरमा मजदूरीका लागि पुग्ने गर्छन् ।


कोरोनाले प्रभावितहरूलाई लक्षित गर्दै प्रदेश सरकारले ल्याएका योजना किताबमै सीमित छन् । स्वदेशमै काम नपाएर नागरिक कोरोनालाई बेवास्ता गर्दै भारत पसिरहँदा प्रदेश सरकार भने काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भने झैँ छ । सरकारका मुख्यमन्त्रीदेखि मन्त्री र सांसद कार्यक्रमहरू उद्घाटन गर्नमै व्यस्त छन् ।कुनै बेला भारतमा आफैंले पनि चौकीदारी गरेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले पनि एकछाक टार्न मुस्किल भएर भारत पस्नेहरूका समस्या समाधानमा चासो दिएका छैनन् ।
पदभार ग्रहण गर्ने बेला नै उनले रोजगारीका लागि भारत जानुपर्ने समस्याको अन्त्य गर्छु भनेर आश्वासन बाँडेका थिए । त्यसको ३ वर्ष बितिसक्दा पनि त्यस्तो कुनै संकेतसम्म पनि देखिएको छै न।अहिले त कोरोना त्रासले स्वदेशमै पाइरहेको सामान्य रोजगारी पनि गुमेपछि विगतका वर्षभन्दा भारत जानेहरूको संख्या बढ्दो छ । मुख्यमन्त्री भट्ट समस्या समाधानका लागि नीति बनिरहेको दाबी गर्छन् ।
‘बेरोजगारलाई रोजगारी सिर्जना गर्ने, अनुदान दिने, आफैं उद्यमी हुन चाहनेहरूका लागि ऋण तथा सहुलियतको व्यवस्था गर्न सबै मन्त्रालयहरूले यसको नीति र विधि बनाइरहेका छन्, ‘मुख्यमन्त्री त्रिलोचन भट्टले भने, ‘अब हामी यसलाई छिट्टै लागू गर्छौं । कोही कृषि गर्न चाहन्छ, कोही पर्यटन गर्न चाहन्छ, कोही व्यवसाय गर्न चाहन्छ, त्यही अनुसार गर्ने वातावरण बनाउँछौं ।’ ‘सम्भव भएसम्म यहीँ नै रोजगारी सिर्जना गर्ने भनेर प्रदेश सरकार लागिरहेको छ । त्यसका लागि अगाडि बढिरहेको छ’, उनले थपे । जनताले मुख्यमन्त्रीको भाषणमा विश्वास गर्न छाडिसके, तर आश्वासन दिन भने अझै छाडेका छैनन् ।
