बर्ड फ्लु देखिएपछि मासु खानामा सावधान रहन मन्त्रालयको आग्रह ,

पुष २२ ,काठमान्डौ – भारतमा बर्ड फ्लू संक्रमण पुष्टि भएपछि सरकारले नेपाल भारत सीमा क्षेत्रमा उच्च सर्तकता अपनाउन आग्रह गरेको छ । भारतको चारवटा मध्य प्रदेश, केरला, राजस्थान र हिमाञ्चल प्रदेशमा बर्ड फ्लू पुष्टि भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

बर्ड फ्लू संक्रमण देखिएपछि सरकारले भारतबाट नेपाल भित्रिने पशुपन्छी तथा पशुपन्छीजन्य वस्तुको कारोबारमा उच्च निगरानी राख्न माताहतका क्वरेन्टाइन कार्यालयहरुलाई निर्देशन दिइएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको हो । पशुपन्छीको आयातमा स्यानिटरी सर्टिफिकेट अनिवार्य गर्न र पशुपन्छीको खुल्ला व्यापारमा कडाई गर्न निर्देशन दिइएको मन्त्रालयका प्रवक्ता डा.श्रीराम घिमिरेले बताए ।

‘दक्षिणतर्फका सबै नाका काँकडभिट्टा, वीरगन्ज, भैरहवा, कृष्णनगर, नेपालगन्ज, कैलाली तथा गड्डाचौकी नाकामा विशेष ध्यान दिन आग्रह गरिएको घिमिरेले बताए ।
देशभर कतै ठूलो परिमाणमा कुखुरा मरे वा शंकास्पद लक्षण देखिए तुरुन्त मन्त्रालय वा नजिकैको कार्यालयमा सम्पर्क गर्न पनि मन्त्रालयले कृषकलाई आग्रह गरेको छ । मन्त्रालयको माताहत देशभर १६ वटा पशु क्वारेन्टाइन कार्यालयहरु छन् ।

हिमाचल प्रदेशमा साइबेरिया र मङ्गोलियाबाट बसाइसराई गरिआएका दुई हजार चारसय खोया हाँसहरू मरेको बीबीसी हिन्दीले जनाएको छ । केरलामा १२ हजार हाँसहरू मरेको र मध्य प्रदेशमा १० दिनमा सयौँ कागहरु मृत अवस्थामा भेटिएको र बकुल्ला र सुगाहरू समेत मरेको पाइएको बीबीसीले उल्लेख गरेको छ । नेपालमा भने अहिले सम्म कुनै स्थानमा बर्ड फ्लू फेला नपरेको मन्त्रालयले जनाएको छ।