क्यान कर्णाली प्रदेश :स्मार्ट सिटीको अवधारणा, साइबर सुरक्षा र चुनौति विषयक अन्तरक्रिया कार्यक्रम

१२ जेठ, सुर्खेत । कर्णाली प्रदेशका आर्थिक मामिला मन्त्री प्रकाश ज्वालाले कम्प्यूटर एशोसियसन महासंघ (क्यान) को सहयोगले कर्णाली प्रदेशलाई डिजिटल प्रदेश बनाउन सम्भव भएको बताउनु भएको छ । स्मार्ट सिटीको अवधारणा, साइबर सुरक्षा र चुनौति विषयक अन्तरक्रिया कार्यक्रममा मन्त्री ज्वालाले यस्तो बताउनु भएको हो ।

प्रमुख अतिथिको आशनबाट बोल्दै मन्त्री ज्वालाले भन्नुभयो, कर्णाली प्रदेशलाई डिजिटल प्रदेशको रुपमा विकास गर्नका लागि प्रविधि र प्राविधिक क्षेत्रमा सहयोग गर्न क्यान महासंघलाई आग्रह गर्दछु । साथै उहाँले थप्नुभयो, राइट दाजुभाइले विमान निर्माण गर्दा कसैले असम्भव देखेका थिए । तर अहिले उनीहरुकै देनका कारण हामीहरु आकाशमा उड्न सफल भएका छौ भने हामीले कर्णालीलाई डिजिटल प्रदेश बनाउँछौ भन्दा धेरैलाई अचम्म लागेको छ तर यो सम्भव छ । केही समय लाग्ला तर पनि हाम्रो कार्यकालमा हामीले बोलेका कुराहरु पूरा गर्ने हाम्रो जिम्मेवारी पनि हो । साइबरले हामीलाई जति सुविधा दिएको छ त्यति नै चुनौति पनि छन् । चुनौति छन् भनेर त्यसबाट भाग्नु हुँदैन । त्यसको सामना गर्नु पर्छ । कर्णाली प्रदेश हरेक चुनौतिका सामना गर्न तयार छ तर विकास निर्माणका कार्यमा एक कदम पछि हट्ने पक्षमा छैन मन्त्री ज्वालाको कथन थियो । मन्त्री ज्वालाले डिजिटल प्रदेश निर्माणका लागि बजेट विनियोजन गर्ने कार्यमा प्रतिवद्धता समेत व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा नेपाल टेलिकम सुर्खेतका प्रमुख नवराज खतिवडाले आइसिटीलाई उद्योगको रुपमा विकास गर्नु पर्ने बताउनु भयो । प्रदेशलाई डिजिटल बनाउन यस भन्दा पहिले गठिन डिजिटल प्रदेश कार्यदलले बुझाएको प्रतिवेदनलाई मध्यनजर गरेर अगाडि बढ्नु पर्ने बताउनु भयो । प्रदेश सरकारले डिजिटल प्रदेशको जुन परिकल्पना गरेको छ त्यसले कर्णालीको भविष्य सुन्दर रहेको उहाँको भनाई थियो ।

कार्यक्रममा प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वीरबहादुर वलीले प्रविधिलाई सही तरिकाले प्रयोग गरेमा हरेक तह र तप्कामा सहयोग हुने र गलत तरिकाले प्रयोग गरेमा कानूनको घेरामा परिने बताउनु भयो । गलत गर्ने कोही कसैलाई कानूनले नछोड्ने बताउँदै प्रविधिलाई बुझेर प्रयोग गर्न सुझाउनु भयो । सही तरिकाले प्रयोग गरिएको प्रविधिले परिवर्तनको क्षेत्रमा फड्को मार्न मद्दत पु¥याउने उहाँको कथन थियो ।

अन्तरक्रिया कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव केशवराज आचार्यले युगको माग अनुसार अगाडि बढ्न सक्नु पर्ने बताउनु भयो । कर्णाली प्रदेश सरकारको डिजिटल प्रदेशको अभियानमा सबैको साथ र सहयोगको खाँचो रहेको बताउँदै भौगोलिक बाबजुद पनि हामी उदाहरणीय प्रदेशको रुपमा विकसित हुन सक्ने उहाँको भनाई थियो । कुनै दिन हात–हातमा मोवाइल र घर–घरमा इन्टरनेटको नारा असम्भव जस्तै लागेपनि आज त्यो सम्भव भएकोले अब डिजिटल प्रदेश निर्माण हुने कार्य पनि सम्भव भएको उहाँको भनाई थियो ।

अन्तरक्रिया कार्यक्रममा डा. अभिजित गुप्ताले डिजिटल प्रदेश निर्माणका सम्भावना र चुनौतिहरु विषय प्रस्तुतीकरण गर्नुभएको थियो भने हेमन्त बरालले डिजिटल प्रदेश र यसले प्रदान गर्ने सहजता तथा यसको प्रयोगको बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा के सेभेन एन्टिभाइरसका प्रविण कुण्डलियाले डिजिटल प्रदेश निर्माणमा एण्टिभाइरसले साइबर सुरक्षाको क्षेत्रमा गर्ने कार्यहरुको बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो ।

कम्प्यूटर एशोसियसन महासंघ (क्यान) कर्णाली प्रदेश समितिको आयोजना र के सेभेन एन्टीभाइरस कम्पनीको मुख्य आर्थिक सहयोग तथा क्यान सुर्खेतको समन्वयमा अन्तरक्रिया कार्यक्रमको आयोजना भएको हो ।

अन्तरक्रिया कार्यक्रम कम्प्यूटर एशोसियसन महासंघ (क्यान) कर्णाली प्रदेशका अध्यक्ष पूर्णदेव अधिकारीको अध्यक्षतामा भएको थियो भने पहिलो सत्रको कार्यक्रम माया थापाले सहजिकरण गर्नुभएको थियो । कार्यक्रममा क्यान सुर्खेत, सल्यान, बाँके लगायतका जिल्लाहरुबाट विभिन्न क्षेत्रमा कार्यरत व्यक्तित्वहरुको सहभागीता रहेको थियो ।