‘फ्लोर क्रस हुने पाएपछि लुम्बिनीका मुख्यमन्त्री पोखरेलले दिए राजीनामा,

बैशाख १९ ,काठमान्डौ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् । उनले प्रदेश प्रमुखको कार्यालयमा राजीनामा पेश गरेका हुन् । उनले आइतबार बिहान प्रदेशप्रमुख धर्मनाथ यादवलाई राजीनामा बुझाएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

विपक्षीको निवेदनको आधारमा आज विशेष अधिवेशन बस्नुअघि मुख्यमन्त्री पोखरेलको राजीनामा आएको हो । यससँगै लुम्बिनीमा नयाँ सरकार गठनको बाटो खुलेको छ । वैशाख ६ मा पोख्रेलविरुद्ध नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले अविश्वास प्रस्ताव दर्ता गरेका थिए ।

उनीविरुद्धको अविश्वासको प्रस्ताव आज दिउँसो १ बजे प्रदेश सभामा छलफल हुने कार्यसूचि थियो । मुख्यमन्त्री पोखरेललाई विश्वासको मत जित्न ४१ सांसद आवश्यक पर्छन् । एमालेको कुल सांसद संख्या पनि ४१ नै हो ।

मन्त्री बनाएपछि आफूलाई साथ दिएका जसपाका ४ सदस्य निष्कासनमा परेपछि मुख्यमन्त्री पोखरेलले ४१ मत मात्र ल्याए पुग्ने अवस्था बनेको हो । दुई जना प्रदेशसभा सदस्य माधव नेपाल समूहका रहेकाले उनीहरूलाई ‘फ्लोर क्रस’ हुनबाट कसरी रोक्ने भन्ने चुनौती देखिएपछि मुख्यमन्त्रीले राजीनामा दिएको बुझीएको छ ।