सीसीएमसी खारेज गर्न माओवादी केन्द्रकाे माग :प्रधानमन्त्रीलाई पत्र

जेठ ६ काठमान्डौ – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले कोभिड -१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) खारेज गर्न माग गरेको छ ।

बिहीवार पेरिसडाँडामा रहेकाे केन्द्रीय कार्यालयमा बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले काेराेना भाइरसकाे सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित सीसीएमसी खारेज गर्न माग गरेको हो ।

विपद्सम्बन्धी घटना हेर्नका लागि विभिन्न सरकारी संयन्त्र भए पनि तिनलाई काम गर्न नदिइ कानुनी हैसियत नभएको सीसीएमसी गठन गरिएको र सीसीएमसी मार्फत् अनियमितता र भ्रष्टाचार भएको भन्दै त्यसलाई खारेजी गर्नुपर्ने नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनले बताए ।

सीसीएमसी खारेज गर्नुपर्छ । विपद्सम्बन्धी घटना हेर्न गृह मन्त्रालयमा अलग्गै कानुनी व्यवस्थासहितको प्राधिकरण छ । त्यसलाई पनि काम गर्न दिइएको छैन । स्वास्थ्य मन्त्रालय र त्यस अन्तर्गत यस प्रकारका जोखिमकाे बारेमा काम गर्ने निकाय छ । त्यसलाई पनि काम गर्न दिइएको छैन ।

प्रधानमन्त्रीको नेतृत्वमा यस प्रकारका विपद् हेर्ने अलग्गै निकाय छ, त्यसले पनि काम गरेको छैन । छुट्टै सीसीएमसी भनेर खडा गरेर त्यसलाई अलग्गै कानुनी हैसियत नभएको संरचनामार्फत अनियमितता, भ्रष्टाचार, सामग्री दुरुपयोगका कुरा आउने भइरहेको छ ।

त्यसले सही ढङ्गले काम गरिरहेको छैन, त्यो खारेज गरिनुपर्छ र कानुनले चिनेको निकायले काम गर्नुपर्छ पुनले भने ।सीसीएमसीले महामारी रोकथाममा काम गर्न नसकेकाले माओवादी केन्द्रले सर्वपक्षीय संयन्त्र निर्माण गर्ने निर्णय पनि गरेको छ ।

सर्वपक्षीय संयन्त्रमा दलहरु, सरोकारवाला लगायत हुनेछन् । साथै महामारी रोकथामका लागि माओवादी केन्द्रले कोष समेत निर्माण गर्ने भएको छ । केन्द्रीय कोष बनाएर महामारी रोकथाममा सक्रिय हुने बैठकले निर्णय गरेको छ ।

बैठकले ५ दिनभित्र प्रदेश, जिल्ला र वडा तहसम्म पुगेर समिति गठन गर्ने र राष्ट्रिय अभियान सञ्चालन गर्ने भन्दै भोलिनै पत्रकार सम्मेलन गरेर जानकारी दिने भएको छ । भोलि नै माओवादी केन्द्रले कोभिड १९ को रोकथाम तथा नियन्त्रणको सन्दर्भमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर ध्यानाकर्षण गराउने बताईएको हो।