प्रधानमन्त्रीले रारामा बोलेका विषय नै समेटिएनन्, कर्णालीलाई पटक्कै सम्बोधन भएन ,,

सुर्खेत, २१ जेठ ।
भौगोलिक रूपमा विकट, भौतिक पूर्वाधारमा कमजोर र आधा भन्दा बढी जनसंख्या गरिबीको रेखामुनी रहेको कर्णालीले केन्द्र सरकारबाट धेरै अपेक्षा गरेको थियो । तर संघीय सरकारले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरेको बजेटले कर्णालीलाई निराश बनाएको छ । मंगलवार संघीय सरकारले ल्याएको बजेटले प्रदेशका ठूला आयोजनालाई सम्बोधन नै गरेन भने राष्ट्रिय गौरवको एउटा पनि कार्यक्रम नपरेपछि कर्णालीमा निराशा छाएको हो । पर्यटनको पर्याप्त सम्भावना भएको प्रदेशमा लगानी आकर्षण गर्ने खालका कार्यक्रम नआएपछि निजी क्षेत्र पनि निराश बनेको छ ।कर्णालीका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले बारम्बार दिएका आश्वासनलाई पनि बजेटले सम्बोधन गर्न सकेन ।

केन्द्र सरकारले आगामी बजेटमा कर्णालीका डोल्पा, मुगु र हुम्लाहुँदै उत्तरी सीमा जोड्नेगरी गमगढी–नाग्मा, सिमिकोट–हिल्सा र दुनै–मरिलापास सडकको निर्माण र स्तरोन्नति गर्ने उल्लेख छ । यो बाहेक यो प्रदेशका लागि बजेटमा कुनै आयोजना र कार्यक्रमका लागि भनेर बजेट किटान गरिएको छैन । केन्द्र सरकारले एउटा पनि राष्ट्रिय गौरवको आयोजना समावेश नगरेको र कर्णालीका लागि आवश्यकता अनुसार बजेट विनियोजन नगरेपछि असन्तुष्टी बढेको हो ।

गत वैशाख १ गते रारामा कर्णाली–रारा पर्यटन वर्षको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले कर्णालीको विकास र समृद्धिका लागि थुप्रै आश्वासन दिएका थिए । प्रदेशसभा सांसद धर्मराज रेग्मी भन्छन्, ‘संघीयताको मर्म अनुसार बजेट आएन । कर्णाली अहिले पनि गरिबी र अभावले थलिएको छ, यहाँका लागि केन्द्रबाट विशेष बजेटको अपेक्षा गरेका थियौं ।

lekbesi