धरानमा हतियारधारी समूहद्वारा प्रहरी चौकीमा आक्रमण
सुनसरी- बिहिबार साँझ सात बजेतिर हतियारधारी समूहले धरानको एक प्रहरी चौकीमा आक्रमण गरेका छन् । घरेलु हतियारसहित ८, ९ जनाको समूहमा पुगेको युवाहरुको समूहले धरान १५ स्थित अस्थायी प्रहरी चौकीमा एक्कासी आक्रमण गर्दा चौकीका इञ्चार्ज सुमन दाहाल घाइते भएका छन् ।
पूर्णरुपमा अनुहार छोपेका करिब ६ , ७ वटा मोटरसाईकलमा हतियार बोकेर गएका युवाहरुको आक्रमणमा परी दाहाल घाइते भएको प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी प्रवक्ता एवम् प्रहरी उपरिक्षक महेन्द्रकुमार श्रेष्ठले बताए ।
दाहालको हात माथि खुकुरी प्रहार भएको छ , उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। घटनाको थप अनुसंन्धान भईरहेको र हतियारधारी समूहको खोजि भईरहेको श्रेष्ठले बताए।